News 24 Television
सरकारको स्थिरतामा कुनै समस्या छैन : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भएर सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको आज भएको भेटमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए ।

    “सदनको गतिरोध अन्त्य भइसकेको छैन”, उनले भने, “आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।”

   सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टीकाटिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले थप भने, “सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।”

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकांक्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । उनले भने, “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ । कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।”

    सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको भन्दै उनले कृषिमा आधारित उद्योगको प्रवद्र्धनमा जोड दिइने बताए ।

    भ्रष्टाचार नियन्त्रणमा सरकारले अभूतपूर्व काम गरेको बताउँदै प्रधानमन्त्री दाहालले ललिता निवासको एक सय ४३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको जानकारी समेत दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update