काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसदमा आज सुरूमा अवराेध नगर्ने भएकाे छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले काँग्रेसले संसद अवराेध नगर्ने भएको हाे ।
कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो । कांग्रेस संसदीय दलको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सङ्घीय संसद्को आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुने कार्यसूची रहेकाे छ ।
कांग्रेसले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची पछिको छलफलमा भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद बैठक फेरि अवराेध गरेर सञ्चालन हुन नदिने जनाएको छ ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत सहकारीको रकम अपचलनमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
