काठमाडौँ । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई कायमै राख्ने भएको छ ।
आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरुका बीचमा सहमतिको प्रयास भएको भए पनि नेपाली काँग्रेसले भनेअनुरुपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरु (सरकार) तयार नभएपछि काँग्रेसले अवरोध कायमै राख्ने भएको हो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण काँग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् ।
‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ,’ उनले भनिन्, ‘केही कुराहरु अपुग भयो । केही कुराहरु नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभुति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन । हामीले राखेको सरोकार भनेको संसदीय छानविन समिति गठन हुनुपर्छ । संसदीय छानविन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट शुरु गर्न खोजेको हो यो चाहीँ नमिलेको छ । सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो ।’
त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानविन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानबिन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिछानेकेन्द्रित छानबिन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए ।
संसद बैठक अपराह्न ४ बजेका लागि तोकिएको भए पनि बैठक बस्न सकेको छैन ।
