News 24 Television
संसदमा काँग्रेसले असभ्य व्यवहार देखायो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनको भनाइ थियो । 

बिहीवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै काँग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औँला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ । 

अध्यक्ष ओलीले शुक्रवार सो बारेमा संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै काँग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए । उनले काँग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको पनि बताए ।

उनले भने, ‘भिडन्त भएन । काँग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’ 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update