काठमाडौं । जेठ ३ गते संसद चलिरहेको बेला एमाले अध्यक्ष केपी ओली र कांग्रेस सांसद धनराज गुरुङबीच भएको भनाभनले चर्चा पाइरहेको छ ।
संसदभित्र मुठभेड हुन सक्ने देखिएपछि बैठक स्थगित नै गरियो । नेपालको संसदीय इतिहासमा रोष्टम घेराऊ गर्ने, माइक तोडफोड गर्ने, संसदभित्रै कुटाकुट गर्ने र सांसदलाई जुत्ता चप्पल प्रहार गर्ने अलोकतान्त्रिक संस्कार सांसदहरुमा देखिदै आएको छ ।
सहकारीको रकम हिनामिना र त्यसमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि नेपाली कांग्रेसले छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आइरहेको छ ।
बिहीबारको बैंठक सञ्चालन हुने बित्तिकै काँग्रेसकी सांसद कुद्दै सभामुखको आसनअघि आएर नारा लागाउन थालिन् । त्यसपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरे ।
सभामुख देवराज घिमिरेले गर्नैपर्ने कामहरु बाँकी रहेको भन्दै सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरे । तर काँग्रेसका सांसदहरू टसमस भएनन् ।
संसदको दृश्य रोचक तब बन्यो जब सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । त्यसबेलासम्म विपक्षी बेञ्चमा रहेका राप्रपा र लोसपाका सांसदहरु उठेर विरोध गर्न थालिसकेका थिए ।
सभामुखले समय दिइसक्दा नसक्दै कांग्रेस सांसदहरु गृहमन्त्रीलाई रोक्न भनेर सत्तापक्षको बेन्च नजिक पुगे । सत्तारुढ सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बोल्न दिनुपर्छ भनेर हुटिङ गरे । त्यसले संसदमा तनाव बढायो ।
पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेसमा सांसद प्रकाशशरण महत पनि आक्रामक हुँदै प्रस्तुत भए । एमालेका महेश बर्तौला र ठाकुर गैरे पनि काँग्रेससंगको भनाभनमा उत्रिए ।
यहीबीच संसद बैठक स्थगित भैसकेको थियो । तर, काँगेसका सांसदहरू सबलाई बेवास्ता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नजिक पुगे ।
प्रचण्डको पनि काँगेसका सांसदहरूसँग भनाभन भयो । यो दृष्यले संसदभित्र कोलाहलको पराकाष्ठा दर्शाइरहेको थियो ।
हुनत, नेपालको संसदीय इतिहासमा मुठभेडको स्थिती सिर्जना भएको यो पहिलो घटना होइन र अन्तिम हुनसक्ने आधार पनि छैन । यसअघि पनि कयौं झडप र मुठभेडहरू संसदमा भएका छन् ।
संसदमा भएका अप्रिय घटनाहरु
– २०४९ सालमा तत्कालीन राष्ट्रियसभामा एमाले सांसद गोल्चे सार्कीद्धारा तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेललाई झापड
– स्थानीय स्वायत्त शासन ऐन पारित गर्ने बेला कांग्रेस र एमालेबीच २०५६ सालमा भएको विवादको निसानामा पनि रामचन्द्र पौडेल नै
– रामचन्द्र पौडेल २०५६ सालमा सभामुख थिए ।
– तत्कालीन सभामुख पौडेलले रोष्टम घेराउका बीच जबर्जस्ती विधेयक पारित भएको घोषणा गरेपछि एमाले सांसदहरु झडपमा उत्रिएका थिए ।
– रोष्टमतर्फ लागेका एमाले सांसदलाई कांग्रेस सांसदहरुले रोक्न खोज्दा दुई पक्षबीच हानाहान भएको थियो भने केही कांग्रेस सांसद घाइते पनि भएका थिए ।
– एमालेकी एक महिला सभासदले प्रहार गरेको लेडिज जुत्ता सभामुख रामचन्द्र पौडेलको आसनमा पुगेको थियो ।
– २०५७ सालमा तत्कालीन पर्यटनमन्त्री ओमकार श्रेष्ठ र एमालेका सांसदहरूबीच हात हालाहाल
– पहिलो संविधानसभाको पहिलो बैठकमा एमाले सभासद कमला शर्माले कांग्रेस नेता तथा सभासद पूर्णवहादुर खड्कालाई चप्पलले गालामा हानेकी थिइन् ।
– माधवकुमार नेपाल नेतृत्वको सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट भाषण गर्न रोष्टमतर्फ जान लाग्दा एकीकृत माओवादीका सभासदहरुले अर्थमन्त्री सुरेन्द्र पाण्डेको बजेट वक्तव्यको ब्रिफकेश खोसे हातपात गरेका थिए ।
– त्यस समय फोरम लोकतान्त्रिकका सभासद सञ्जयकुमार साहले दुईवटा कुर्सी तोडफोड गरेका थिए । त्यसपछि उनलाई तत्कालिन सभामुख सुवास नेम्वाङले निलम्बन गरे ।
संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । तर, संसदभित्रै सांसदबाट अमर्यादित र अराजक व्यवहारले संसदको गरिमा माथि प्रश्न उठ्ने गरेको छ । यसतर्फ दलहरू सचेत हुन आवश्यक छ ।
