काठमाडौं । सत्ता र प्रतिपक्षको चेपमा परेका छन्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे । सभामुखले रेफ्रिको भूमिका खेल्नुपर्ने भएपनि उनीमाथि दलीय पक्षधरताको आरोप चर्को रुपले लाग्न थालेको छ ।
भूमिकामाथि प्रश्न उठिरहेको बेला कांग्रेसले निरन्तर किन सभामुखको कार्य शैलीमाथि प्रश्न गर्न थाल्यो त ? सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गरिरहेको छ । कांग्रेसले यस्तो माग गर्दा सत्ता पक्षले संसदीय छानविन समिति बन्दैन भन्दै प्रतिरोधमा उत्रिएपछि संसदमा धकेलाधकेलको स्थिति बन्न पुग्यो ।
संसदमा अवाञ्छीत गतिविधि बढेपछि सभामुखमाथि प्रश्न उठ्न थालेको हो ? यो प्रश्नमा कांग्रेस आक्रामक देखिन्छ । प्रतिनिधिसभामा कांग्रेसले संसदीय समितिको माग गरिरहेको छ । संसद अवरोध गरिरहेको कांग्रेसले समिति नबनेसम्म संसद चल्न नसक्ने चेतावनी दिइरहेको छ ।
यस्तोमा सभामुख कहिलेकाँही झोक्किएर प्रतिप्रश्नमा उत्रिने गर्छन् । संसद अवरोध गर्दा संसदको कार्यसूची कसले तय गर्ने हो भन्दै प्रश्न पनि गर्छन् ।
सभामुखमाथि प्रश्न उठ्ने गरेको विषय यतिमात्रै भने होइन् । संसदीय समितिमा अड्किएको संसद सञ्चालनका लागि घिमिरेले छलफल परामर्शलाई जोड दिएपनि उनीमाथि कांग्रेसले निष्पक्षता अपनाउन नसकेको आरोप लगाइरहेको छ ।
कांग्रेसले सभामुखमाथि प्रश्न गर्दै गर्दा सत्ता पक्षले भने सभामुखमाथि प्रतिपक्ष असभ्य ढंगले पेश हुन थालेको आरोप लगाइरहेको छ । कांग्रेसले संसदीय मर्यादा कायम गर्न नसकेको भन्दै एमाले पंक्ति कांग्रेसप्रति आक्रोशित देखिन्छ ।
ओलीले कांग्रेस महामन्त्री समेत रहेका गगन थापालाई लक्षित गर्दै यस्तो टिप्पणी गरेपनि सभामुखले समेत संसदलाई निष्पक्ष बनाउन सके त ? प्रश्न भने जटिल बनिरहेको छ ।
सभामुख घिमिरेले संसदमा विरोध चल्दै गर्दा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समयदिएछि संसदमा धकेलाधकेल नै चल्यो ।
सभामुखले बोल्ने समय दिएपछि ओलीले रविलाई बोल्न जान गरेको ईशारा र कांग्रेसको अवरोधले संसद हानामार गर्ने थलो जस्तो देखिन पुग्यो ।
संसद अवरोधको क्रममा पूर्वकानून मन्त्री समेत रहेका धनराज गुरुङ ओलीतर्फ लम्किएर गरेको व्यवहार भने सभ्य किसिमको नभएको धेरैको बुझाई छ ।
गुरुङले यस्तो व्यवहार किन प्रदर्शन गरे त्यो उनको मामलाको विषय भयो तर, संसदमा विवाद भने थप लम्बेतान बन्न सम्भावना छ ।
सभामुखमाथिका प्रश्न
सभामुखमाथिका प्रश्न भने जहिल्यै पक्षधरता लिएकोमा नै केन्द्रित देखिन्छ । सुवासचन्द्र नेम्वाङमाथि लागेका आरोपहरु हुन वा कृष्णबहादुर महरादेखि अग्निप्रसाद सापकोटासम्मका विषय नै किन नहुन, विवादले नघेरिएका सभामुख देखिन्नन् ।
नेम्वाङमाथिका आरोपहरु प्रतिपक्षले विषय नै बनाएर प्रहार नगरेपनि महरा र सापकोटामाथि एमाले अध्यक्ष केपी ओलीले पछिसम्म नै प्रहार गरिरहे ।
जुन कारण सभामुखले रेफ्रिको भूमिका निर्वाह गर्नुपर्ने विषयमा प्रश्न उठ्दै आएको छ । यसले सभामुख दलीय दृष्टीकोणको चुन्ने वा गैर दलीय र स्वतन्त्र व्यक्तिलाई चुन्ने भन्ने विषय समेत बहस छलफलको ढोका खुला गरिदिएको छ ।
