News 24 Television
माधव तर्किएपछि कड्किए प्रचण्ड, पौठेजोरी कहाँ–कहाँ ?

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी थालेका छन् । चौथो पटक विश्वासको मत लिन लागेका प्रधामन्त्रीलाई प्रतिपक्षले मात्रै नभई सहयात्रीहरुले समेत प्रश्न गरिरहेका छन् । 

यी सबै परिदृष्यले राजनीतिक स्थिरताको प्रश्नमात्रै होइन, राजनीतिक दाउपेचले कस्तोसम्मको स्थिति निर्माण गर्दैछ त ?  प्रधानमन्त्री प्रचण्डले यहि ७ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि उनले विश्वासको मत पाउलान् ?

प्रश्न उत्तिकै पेचिलो देखिन्छ । तर, विश्वासको मत दिने दल र नेताहरुको विभाजित मानसिकता र प्रतिपक्षको घेराबन्दीमा परेको सरकारले आफूलाई कसरी बहुमत सिद्ध गर्ला ? 

यो चासोको विषय छ । सत्तामा कहिले को प्रतिपक्ष त कहिले को सत्ता पक्ष बन्ने स्थितिका माझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कति पटक विश्वासको मत लिने हो भन्दै प्रश्न गरिरहेको देखिन्छ । 

कांग्रेसले मात्रै होइन अहिले त सत्ता घटक दल समेत प्रधामन्त्री प्रचण्डमाथि व्यङ्ग्य कस्न थालेका छन् । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी प्रधामन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेमा अन्योलग्रस्त छ । यस्तोमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि प्रचण्डमाथि व्यङ्ग्य मिश्रित आक्रोश पोखेका छन् । 

नेकपा एसले विश्वासको मत दिने नदिने विषय टुंगो लागि नसकेको स्थितिकाबीच प्रधामन्त्री प्रचण्ड भने विश्वासको मत पाउने विषयमा निर्धक्क देखिन्छन् । कांग्रेसले विश्वासको मतमा प्रश्न गरेको भन्दै प्रचण्डले आक्रोश पोखेपनि यो आक्रोश नेकपा एसतर्फ पनि केन्द्रित छ । 

किन चिढिदैछ नेकपा एस ?

नेकपा एकीकृत समाजवादी पार्टीलाई प्रधानमन्त्री प्रचण्डले वास्ता गर्न छाडेका छन् । जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश पनि फिर्ता लिएको अवस्था छ । यस्तोमा प्रधानमन्त्री प्रचण्डले सत्ता घटक दलहरु फेरेर वा फुटाएर भएपनि विश्वासको मत लिने गरि तयारी गरिरहेका देखिन्छन् । 

निकट सम्बन्धमा रहेपनि माधव नेपालले धेरै स्पेस खोज्न थालेपछि आजित बनेका प्रधानमन्त्री प्रचण्ड कुर्सी जोगिने हदसम्म नेकपा एसलाई वास्ता गर्ने मुडमा छैनन् । 

यहि कारण हुनुपर्छ, माधव नेपालले आफ्नो पार्टीलाई किनाराकृत गर्न थालिएको भन्दै आक्रोश पोख्न थालेको देखिन्छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update