News 24 Television
झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ : काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ । 

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो सरकार संसदीय समिति बनाउन तयार भए पनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए । 

‘संघीय संसदमा देशभरमा जे विषय उठेको छ, त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत भएकाले कुरा मिलिरहेको छैन,’ उनले भने, ‘हामीले भनेको समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्नेकुरा पनि उल्लेख गरेर जाउँ । जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाउँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ । त्यसमा उपप्रधान एवं गृहमन्त्रीकै नाम जोडिएकाले काँग्रेसले मुद्दा उठाएको छ, सर्वत्र कुरा उठेको छ भने के हो यसको बारेमा पनि छानबिन गरेर जाउँ भन्ने हो । उहाँहरुको कुरा जिम्मेवारपूर्ण आएन ।’

प्रमुख सचेतक लेखकले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उनको नाम राखेरै संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको र काँग्रेस आफ्नो मागबाट पछि नहट्ने बताए । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update