काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय समितिको मागमा कांग्रेसले थप आक्रामक ढंगले योजना पेश गर्न थालेको छ । सत्ता पक्षले सहकारी ठगी प्रकरणलाई सबै पक्ष समेटेर छानबिन गर्ने बताएपनि कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध नै छानविन समिति बन्ने स्थिति नबने कांग्रेसले नमान्ने अडान लिइरहेको छ ।
सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडानलाई केन्द्रविन्दुमा राखेर काम गर्ने देखिएको छ । सहकारी ठगी प्रकरणमा बन्ने संसदीय छानविन समिति निर्माणमा कांग्रेसले उपप्रधान एवम् गृहमन्त्रीविरुद्ध नै जानुपर्ने अडान राखिरहेको छ । तर, सत्ता पक्षले रविविरुद्धको संसदीय समिति बन्न सम्भव नभएको बताइरहेको छ ।
रास्वपाले रविविरुद्ध छानविन समिति बन्न सम्भव नरहेको भनिरहँदा कांग्रेस भने रविविरुद्ध नै समिति बन्नुपर्नेमा दृढ देखिन्छ ।
सत्ता पक्षले संसदीय समितिलाई झारा टार्ने गरि अघि बढाउन खोज्दा सहमति जुट्न नसकेको कांग्रेसको दाबीले समिति गठन गर्न कार्यादेश नै टुंगो लाग्न नसक्ने गरि विषय अघि बढेकाले यो विषयमा के होला भन्ने चासो कायमै देखिन्छ ।
रविविरुद्ध नै छानबिन समिति किन ?
कांग्रेसले देशभरका सम्पूर्ण सहकारी ठगीको समस्यालाई केन्द्रमा राखेर समिति बन्न आवश्यक नरहेको तर्क गरिरहेको छ । तर, सत्ता पक्षले रविलाई नै केन्द्रमा राखि अनुसन्धान गर्न नसकिने बताइरहेको छ । यद्दपी, संसदमा बोल्न नपाएको भन्दै आक्रोश पोखिरहेका रविलाई संसदमा बोल्ने बाटो खुला गरिदिन प्रतिपक्ष तयार भएको छ ।
संसदमा बोल्न दिएन भन्ने भाष्यलाई चिर्न यस्तो रणनीति अख्तियार गर्दै राजनीतिक रुपमा परिपक्क निर्णयमै निर्भर रहेर सत्ता उलटफेरको तयारी तीब्र पार्न थालेको छ कांग्रेस ।
सत्ता पक्षको माग र अडान
सत्ता पक्षले देशभर देखिएको सहकारी समस्या समाधानमा केन्द्रित बन्दै समिति बन्नुपर्ने बताइरहेको छ । सत्ता पक्षले देशभरका सहकारीमाथि यस अघिदेखि नै राज्यका निकायले अनुसन्धान गरिरहेको विषयलाई सामान्यीकरण गर्न खोजेको आरोप लाग्न थालेको छ ।
सहकारी ठगी प्रकरणमा सत्तामा रहेका शक्तिशालीमाथिको अनुसन्धान राज्यको निकायले स्वतन्त्र रुपले गर्न नसक्ने भएकाले संसदीय समितिले गर्दा त्यसको प्रभावकारिता हुने र सत्ता नै जाने डरका कारण सत्ता पक्ष सबै सहकारीलाई ल्याउन खोजिरहेको देखिन्छ ।
तर, सरकारले गृहमन्त्रीलाई सत्ताबाहिर राखेर संसदीय समिति बनाउने विषयमा सहमति जुटाइहाल्ने स्थिति र मुड भने तत्काल देखिन्न ।
कांग्रेसको अर्जुनदृष्टि
नेपाली कांग्रेस सत्ता पक्षको अडानमा सहमत हुने देखिन्न । सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि कांग्रेसले लगाएका आरोप र संसददेखि सार्वजनिक रुपमा बाँडेका सपनाका कारण पनि कांग्रेस अब आरोप पुष्टी हुने आधारको खोजिमा लाग्ने सम्भावना बलियो छ ।
सहकारी ठगी प्रकरणमा रविको संलग्नता नखुलेपनि उनीमाथि राजनीतिक दबाब सिर्जना गर्ने र सत्ता राजनीतिलाई कोर्ष करेक्सनमा लैजाने रणनीति कांग्रेसको छ । कांग्रेसले रवि केन्द्रित संसदीय समिति बनेमा पर्याप्त प्रमाण भेटिने र गोरखा मिडिया प्रालीमा आएको अवैध रकमबाट समेत उनको संलग्नता पुष्टी हुने आधार तय हुने कांग्रेसको बुझाई छ ।
यता सत्ता पक्ष पनि यही कारण झस्किएको छ । तर, कांग्रेसले यो विषयलाई पुष्टी गर्ने आधार तयार पारे सत्ता मात्रै नभई अर्को चुनावका लागि समेत सहज स्थिति बन्ने ठानेको छ ।
