News 24 Television
प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ- 'जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो' 

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काँग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ । सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा काँग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै काँग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए । उनले काँग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि काँग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए । उनले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम काँग्रेसले गरेकोले गैरजिम्मेवार अभिव्यक्ति दिएर काँग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिए ।

‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली काँग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली काँगे्रसले जे गर्यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो,' लेखकले भने, 'मैले सम्मानित आदरणाीय नेता, मैले धेरै आदार पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु । तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ । तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने काँग्रेस हो । बिर्सिनु भयो । हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो । तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न काँग्रेसको सहयोग र भुमिका छैन ? यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने । भोलिका दिनमा मूल्य चुकाउनुपर्ला ? के चुकाउनुपर्छ ? तपाईंहरु गैरजिम्मेवार भएर निरंकुशतातिर जाने, सहकारीको रकम हिनाममिना भइसक्यो । फिर्ता गराउने कार्यक्रम र कार्ययोजना छैन । कारबाही गर्ने योजना छैन । नेपाली काँग्रेसका बिरुद्धमा गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउने कुरा र बोल्ने कुरा बन्द गर्नुस् । धेरै धम्क्याएर र तर्साएर काँग्रेस धम्किने पार्टी होइन ।’

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update