काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय छानविन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेसले संसदीय छानविन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन् । उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत काँग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने बताए ।
काँग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको बताउँदै उनले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पारे ।
‘यस्तो बदनियत राखेर एउटा कोही अमुक व्यक्तिका नाममा अनुसन्धान गर्नका लागि अनुसन्धान अधिकारी नेपाली कांग्रेसले नियुक्त गर्न पाउँदैन,' बर्तौलाले भने, 'नेपाली कांग्रेसको यसप्रकारको दादागिरी, उदण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन । यदि काँग्रेस संवादको माध्यमबाट अगाडी बढ्न तयार छ भने हामी सम्वादको सबै वातावरण बनाएर अगाडी जान तयार छौँ । कार्यदलको बैठक बस्न सक्छ । कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहान्छौँ । सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडी जान चाहन्छौँ । बचतकर्ताहरुको वचतको सुरक्षाको सुनिश्चितता गर्न चाहान्छौँ । ठगी र बदमाशी गर्नेहरुलाई कारबाही गर्न चाहन्छौँ । त्यो संसदीय छानविन समितिले गर्न सक्छ । तर नेपाली काँग्रेस तयार छ ? तपाईहरुलाई चाहिएको छ- रवि लामिछानेको नाम । नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने । सरकारलाई ढाल्ने ।'
उनले मुलुकलाई अस्थिरतातर्फ लैजाने दाउपेच नेपाली कांग्रेसको रहेकाे बताउँदै थपे, 'नेपाली कांग्रेसले समिति माग गरेको होइन । समितिको नामबाट सरकार माग गरेको हो । जुन कुरा असम्भव छ । नेपाली कांग्रेसको त्यो बदनियत हो भन्नेकुरा, पूर्वाग्रहप्रेरित छ भन्ने कुरा उसको समग्र चरित्र र व्यवहारबाट उदाङ्गो भएको छ ।’
