काठमाडौँ । प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरणमा नगददेखि विभिन्न विषय समावेश भएपनि नेता तथा मन्त्रीहरुमा सुन मोह भने व्यापक बनिरहेको देखिन्छ । सुन नभएको मन्त्री नै पाउन मुस्किल हुनेदेखि सम्पत्ति जति श्रीमतिको नाममा राख्ने गरिएको विवरण समेत सार्वजनिक भएको छ । यस्तोमा कसको सम्पत्ति विवरणमा कति सुन उल्लेख छ त ?
मन्त्रिपरिषद्का २३ सदस्यहरुमा दुई जनाबाहेक सबैको सम्पत्ति विवरण सार्वजनिक भएको छ । यसमा उनीहरुले आफ्नो यथार्थ कति खुलाए भन्ने प्रश्न भएपनि सार्वजनिक भएको विवरणमा घर, गाडी, सुन, ब्राण्डेड घडी, सेयरदेखि हिरासम्मका विषय समावेश भएका छन् । सुनलाई अधिकांशले दाइजो वा पत्नीको घरबाट प्राप्त भएको उल्लेख गरेका छन् भने सम्पत्ति जति श्रीमतिको नाममा देखिएकोे छ । यस्तोमा कसको सुन कति छ त ?
स्वास्थ्यमन्त्री प्रदीय यादव र हसीना खानको सम्पत्ति विवरण प्राप्त नभएको भनिएको छ भने अर्थमन्त्री वर्षमान पुन र उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सुन नभएको देखिन्छ भने अन्य सबैसँग सुन रहेको विवरण सार्वजनिक भएको छ । जसमा नवलकिशोर साह सुडीले भने परिवारका सदस्य छोरा बुहारीको समेत जोडेर सम्पत्ति सार्वजनिक गरेका छन् ।
यता, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत पत्नी निकिता पौडेल लामिछानेको नाममा सुन रहेको विवरण छ भने केहिको साथमा हिरा समेत रहेको उल्लेख छ । जसमा शिक्षा मन्त्री सुमना श्रेष्ठसँग हिराको टप र हिराको सेट रहेको छ भने सुमनाले १० तोला सुन विहेमा उपहार पाएको उल्लेख गरेकी छन् । श्रममन्त्री डोलप्रसाद अर्याल डीपीसँग १० तोला हिरा रहेको उल्लेख गरिएको छ ।
