News 24 Television
कांग्रेसको अबको बटमलाइन 'गृहमन्त्रीको राजीनमा '

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सडक संघर्ष गर्ने निर्णय गरेको छ । सडकबाटै सरकारमाथि दबाब दिने तयारीमा जुटेको कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग्ने भएको छ । 

प्रतिनिधिसभामा सत्ता पक्षले निरन्तर प्रतिपक्षलाई पेलेर अघि बढिरहेको छ । सत्ता पक्षले अवरोधकाबीच पनि कामकारबाही अघि बढाउन थालेपछि कांग्रेस संसदमा समेत अर्थहीन त बन्ने होइन भन्ने प्रश्नको घेरामा पुगेको छ कांग्रेस । यस्तोमा कांग्रेसले नयाँ रणनीति तय गर्न भन्दै डाकेको बैठकले सडक संघर्षलाई पनि जोड दिनुपर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसले सडकमा संघर्ष किन गर्ने भन्ने विषयमा समान धारणा निर्माण गर्न बुधबार बैठक नै डाक्यो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सरकार अधिनायकवादतर्फ लम्किएको निष्कर्ष निकाल्दै सडकमा जानुपर्ने विषयलाई जोड दिएको छ । सडकमा कांग्रेसले पहिलो चरणमा भातृ संगठनलाई उतार्ने भएको छ । जसअनुसार भातृ संगठनलाई निर्देशन दिइएको बताइएको छ । 

कांग्रेस किन सडकमा ?

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदमा आवाज उठाइरहेको कांग्रेसलाई सरकारले पेलेरै अघि बढिरहेको छ । सरकारले कांग्रेसको अवरोधकाबीच बजेट नै ल्याउने तयारी गर्न थालेपछि कांग्रेस झस्किएको छ । 

कांग्रेसले सहकारी ठगीमा संसदीय समिति गठनमात्रै नभएर अब गृहमन्त्रीको राजीनामा समेत माग्ने तयारी गरेको छ । सहकारी ठगीमा रविविरुद्ध छानविन समिति बन्नपर्ने अडानमा रहेको कांग्रेसले सदनमा खरो पेश भएर मात्रै नपुग्ने निष्कर्षमा पुगेपछि नै सडकमा आउने तयारी गरेको  हो । 

रविको राजीनामा किन ?

उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने क्रममा कांग्रेस नेताहरुमाथि संगिन आरोप लगाएका छन् । रविले नेताहरुको नामै नलिएपनि अप्रत्यक्षरुपमा तोकेरै लगाएको आरोपले कांग्रेस तरङ्गित मात्रै बनिरहेको छैन् । छानविनको चुनौति दिने मुडमा पुगेको छ । 

संसदमा रविले उपसभापति धनराज गुुरङ, महामन्त्री गगन थापा, सभापति देउवा पत्नी आरजु राणा देउवासहित नेताहरुमाथि संगिन आरोप लगाएका छन् । यसले पनि कांग्रेस क्रुद्ध बनिरहेको छ भने अब रविको राजीनामा माग्नैपर्छ भन्ने मुडमा कांग्रेस पुगेको छ । सडकमा उत्रिन थालेको कांग्रेसले आफूलाई सडकमा कसरी पेश गर्छ ? कुन रणनीतिक चाल चल्छ भन्ने विषयले अबको राजनीतिक परिदृष्य थप प्रष्ट हुने देखिन्छ । 

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update