News 24 Television
गृहमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् ।

बिहीवार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए । सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै शर्माले प्रश्न समेत गरे । 

सहमत नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न समेत उनले आग्रह गरे । भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उनले आग्रह समेत गरे । 

काँग्रेसका ककसको छानबिन गर्ने हो गरे हुन्छ भन्दै शर्माले गम्भीर रुपमा छानबिन हुनुपर्ने तर हचुवाको भरमा आरोप लगाउन नहुने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र काँग्रेसका कोही व्यक्ति दोषी देखिए काँग्रेसले राजनीति छोड्नुपर्ने चुनौती दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नु नपर्ने तर दोषी जेल जानुपर्ने उनको भनाइ थियो । 

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताए । देश बनाउने मिसनमा सबै सामेल हुनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update