News 24 Television
काँग्रेस नेतामाथि लगाइएका आरोपमा छानबिन गर्न चुनौती

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएको आरोपमाथि छानविन गर्न चुनौती दिएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानविन समिति बनाउन चुनौती दिएका हुन् । उनले नेपाली काँग्रेसका नेताहरु छानविनको दायरामा आउन तयार रहेको बताए । 

गृहमन्त्री रवि लामिछानेले पनि काँग्रेसका नेताहरुमाथि संसदमा बोलेरै आरोप लगाएको भन्दै शर्माले त्यसमा पनि सबैमाथि छानबिन गर्न आफूहरु तयार रहेको बताए । उनले काँग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानविन गर्न तया रहेको भन्दै कसलाई छानविन गर्ने हो भनी प्रश्न समेत गरे ।

महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धन सहकारीबन्धु गठबन्धन भएको टिप्पणी पनि गरे । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमतिका साथ यो गठबन्धन अगाडि बढिरहेको उनको अरोप छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update