News 24 Television
जीवी राई पक्राउ नहुनुको कारण के ? कहाँ छन् जीवी ? 

काठमाडौं । सहकारी ठगीमा चर्चित पात्र गितेन्द्र राई ‘जीबी’ अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । जीबी पक्राउ पर्न नसकेपछि यसबारे सरकारमाथि निरन्तर प्रश्न उठिरहेको छ । सरकारमाथि प्रश्न उठेपनि जीबी पक्राउ किन परेनन् वा पर्न सकेनन् भन्ने विषयको गलफत्ति टुंगिएको छैन । 

त्यसमा पनि पछिल्लो समय सरकारले चालेका कदम र उनको राहदानीको विषयमाथि प्रश्न उठ्न थालेको छ । 

देशका विभिन्न क्षेत्रमा सहकारी खोलेर सर्वसाधारणको रकम अपचलन गरेको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) अन्तिम समय मलेसियामा लोकटे भएका थिए । 

मलेसियामा सरकारले उनको पक्राउको तयरी गरेपनि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । यस्तोमा उनै जीबीलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री  रवि लामिछानेमाथि अहिले यहि प्रश्न तेर्सिने गरेको छ । 

रास्वपाले सिंगो रुपमै जीबी राईलाई सरकारले किन पक्राउ गर्न सकेन भन्दै प्रश्न मात्रै गरेको देखिन्न थियो । कार्य सम्पादनमै प्रश्न उठाउने काम गरिएको थियो । तर, आफै तालुकदार निकायको नेतृत्वमा आएपछि सोहि प्रश्न रास्वपा र रवि माथि आउने गरेको छ । जीबीलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएका रवि लामिछानेलाई यो प्रश्नले पिरोलिरहेको छ ।

रविले यस्तो दाबी गरेपछि प्रधानमन्त्री प्रचण्डले रविको अभिव्यक्तिलाई वाइयात तर्क भन्दै आक्रोश समेत पोखे । 

प्रधानमन्त्रीले यस्तो जिकिर गरेपनि प्रतिपक्षी दल नेपाली कांग्रेसले भने जीबी राईलाई भगाएको आरोपमा जवाफ दिनुपर्ने बताएको थियो ।

यसरी चौतर्फी जीबीको खोजि चलेपछि सरकारमाथि अनेक दबाब परेका छन् । त्यसैले रवि कहिले मलेसियामा समकक्षीसँगको सम्वादमा जोडिने गरेका छन् त कहिले प्रहरीको उच्च नेतृत्वले त्यहाँको प्रहरीसँग समन्वय गरेको दाबी गर्छ । 

तर, जीबी मलेसियाबाट देश सरेको खवरपछि भने प्रहरीलाई थप हैरानी आइलागेको छ । कास्की प्रहरीले जीबी राईको राहदानी रद्द गर्न माग गर्दै अदालत गुहा¥यो । अदालतले जीबीको राहदानी रद्द गर्न नमिल्ने आदेश दियो । 

अदालतबाट पार नलागेपछि राहदानी विभाग पुगेको प्रहरी त्यहाँबाट पनि जीबीको राहदानी रद्द गराउन असफल बनेको छ । यसरी प्रहरीले कानून कार्यान्वयन गर्ने मामलामा फितलो निर्णय गर्न किन पुग्यो ? प्रश्न भने गम्भीर बनिरहेको छ ।  

जीबीको राहदानी रद्द गर्न प्रहरीले सक्रियता देखाउनुमा संसदीय छानविन समिति र रास्वपा नेतृत्वमाथिको राजनीतिक घेराबन्दी पनि एक कारण बन्न पुगेको छ । 

संसदमै उभिएर रास्वपा सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्रीले जीबी राईले गरेको सारा फोहोर आफूले नसोर्ने अभिव्यक्ति नै दिएका थिए ।

रवि जीबीकै कारण तनावमा परेका छन् । जीबी राईसँगको साझेदारी र त्यो साझेदारीमा गोरखा मिडिया प्रालीले लिएको सहकारीको अवैध ऋणको पासोमा रविलाई समेत पार्ने प्रयासपछि जीबी सर्वाधिक खोजिका पात्र बनेका छन् । तर, स्थिति सहज नभएकाले यस्ता असफल प्रयास अझैं नहोलान भन्न सकिन्न । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update