News 24 Television
कांग्रेसको रणनीति होला त सफल ?

काठमाडौँ । सहकारी ठगीले देशभर आतंक मच्चाइरहेका बेला नेपाली कांग्रेसले अहिले यसै विषयमा सडक तताउँदैछ । पछिल्लो समय सदनमा समेत पेचिलो ढंगले उठेको सहकारी ठगी प्रकरण केवल सदनमा सीमित छैन । पीडितहरु नै काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका छन् । यसै अवस्थामा आइतबार कांग्रेसले पनि काठमाडौं उपत्यका केन्द्रित प्रदर्शन गर्न लागेको हो । कांग्रेसको प्रदर्शन कुन रणनीति अन्र्तगतको हो ? प्रदर्शनको खास उद्देश्य के हो त ? 

    नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणसहित वेथितिकाविरुद्ध सरकारलाई दबाब दिन भन्दै आइतबार काठमाडौं उपत्यकामा प्रदर्शन गर्दैछ । सहकारीको रकम ठगीको आरोप खेपिरहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नु पर्ने कांग्रेसको मुख्य माग हो । जसका लागि संसदीय समिति बनाउनै सत्ता पक्ष र प्रतिपक्षबीच पौठेजोरीको अवस्था बन्यो । 

रविमाथिको छानविन माग गर्दै कांग्रेसले दिनहुँ संसद बैठक अवरोध समेत गरिरहेको छ । संसदीय समितिलाई गति दिने कार्य चल्दै गर्दा कांग्रेस सडक संघर्षलाई समेतसँगै अघि बढाउने रणनीतिमा देखिएको हो । 

सरकारलाई सहकारी पीडितलाई न्याय दिलाउँ, सहकारी ठगलाई कार्वाही गरौं भन्दा उसको बचाउ गर्छ, संसदमा उठाएको मुद्धाका बिषयमा सरकार गम्भिर हुनुको साटो हल्का फुल्का टिप्पणीमै अल्झीए पछि सरकारलाई बिउँझान परेकाले सडक संघर्षमा आउनु परेको कांग्रेसको भनाइ छ । 

विगतमा पनि सहकारी पीडितहरुले बचत फिर्ताको माग राख्दै पटक पटक आन्दोलन गरेका थिए । तर सरकारले उनीहरुलाई बचत फिर्ता गरिदिने आश्वासन दिदै उनीहरुले गरेको आन्दोलन, धर्ना र प्रदर्शनका कार्यक्रमहरु फिर्ता लिन लगाए पनि हाल सम्म पीडितहरुले न्याय पाएको अवस्था छैन । विगतमा पीडितहरुले आन्दोलन गर्दा कांग्रेस पनि सरकारमा थियो । तर त्यस बेला पनि उसले पीडितहरुलाई न्याय दिलाउन सकेन तर अहिले प्रतिपक्षमा पुगेपछि कांग्रेसले सहकारी पीडितहरुको आन्दोलन चर्काे बनाउने कसरत गरेको देखिन्छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update