काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद जीवन परियारले कार्यदल बैठकमा काँग्रेसले अघि सारेको प्रस्तावमा यथावत रहेको बताएका हुन् । उनले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा यथावत रहेको बताउँदै सत्तापक्ष सो कुरामा सहमत नभएको बताए ।
सत्तापक्ष विभिन्न शब्दहरुमा खेलिरहेको आरोप लगाउँदै उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग संबद्ध पदाधिकारीहरुलाई छानबिनको दायरामा नल्याएसम्म काँग्रेस पछि नहट्ने स्पष्ट पारे । कार्यादेशमा सहमति भएर संसदीय छानबिन समिति बनेन भने बजेट प्रस्तुत हुँदा पनि आफूहरुको आन्दोलन जारी रहने उनको भनाइ छ ।
काँग्रेसकै सांसद जावेदा खातुन जागाले सहकारीबाट अपचलन भएको जनताको लाखौँ रुपैयाँ रकम फिर्ता नभएसम्म आफूहरु पछि नहट्ने बताइन् । उनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति नबनेसम्म आन्दोलन जारी रहने पनि बताइन् ।
