काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्युलाई सम्बोधन गर्दै एक फेसबुक स्टाटस लेख । माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ ।
काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।
सडक डिभिजनको चेतावनी !
जब बालेनले यत्ति लेख्दै शनिबार साँझ करिव ५ बजे सडक डिभिजन काठमाण्डौंको मिनभवन स्थित कार्यालयको गेटमा काठमाण्डौं महानगरपालिककाको मिनि टिप्परबाट कार्यालय परिसर फोहोर फाले ।
त्यस पछि सडक डिभिजनले पनि एक विज्ञप्ति जारी गर्दै बालेनलाई प्रतिकार चेतावनी दियो । उसले कार्यालय नै छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाण्डौँको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सडक डिभिजनको गेटमा काठमाडौँ महानगरपालिकाले फोहोर फाल्नुलाई कानुनी राज्यको उपहास, बलमिच्याई तथा अराजक शैलीको संज्ञा दिएको छ ।
मिति २०८१ जेठ ११ गते शुक्रबार काठमाण्डौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुखबीच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको र यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमती दिइएको समेत सडक विभागले जनाएको छ ।
तर, शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमती सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाईएको विषयलाई विषयान्तरको लागि महानगरले फोहोर फालेको सडक विभागको जिकिर छ ।
डिभिजनको कार्यक्षेत्र सँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा सह्य नहुने र प्रतिकार गर्ने चेतवानी सडक डिभिजन काठमाण्डौंले दिएको छ ।
अल्टिमेटमदेखि चोरीको आरोपसम्म !
त्यसो त काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीचको आरोप प्रत्यारोप र अल्टिमेटम नयाँ होइन । चक्रपथ सुधार आयोजना समयमा सम्पन्न नहुँदा धुलोबाट राजधानीबासी आक्रान्त छन् । यस विषयमा बालेनले निरन्तर केन्द्र सरकारलाई खबरदारी गर्दै आएका छन् ।
उनले यस अघि पनि बालेनले चक्रपथ सुधारको काम समयमा नसकिएकोमा असन्तुष्टि जनाएका थिए । चक्रपथ सुधारको काम समयमा नै नसकिएको कारण नै काठमाडौँबासी धुलोबाट आक्रान्त भएको र आयोजना कहिले सकिन्छ भन्ने विषयमा पनि अन्योल रहेको भन्दै उनले विरोध स्वरुप बोर्ड नै लगाएका थियो ।
तर, महानगरपालिकाले उक्त बोर्ड राखे पछि सडक विभाग अन्तर्गतको काठमाडौँ चक्रपथ सुधार योजनाले बोर्ड हटाउन ३ दिनको अल्टिमेटम नै दियो ।
उसले काठमाडौँ चक्रपथ सुधार योजना अन्तर्गत कोटेश्वर देखि कलंकी सम्मको पहिलो चरणको काम सम्पन्न भएको र कलंकीदेखि वसुन्धरापुलसम्मको दोस्रो चरणको काम गर्ने गरी चीन सरकारसँग सन् २०१८ जनवरी १७ मा एमओयू भएको जानकारी दिँदै नेपालको तर्फबाट साइट क्लिरेन्स्का काम सम्पन्न भएको तर, खरिद कारबाही एवं सम्झौता नभएको भनि गत चैत २ गते सुचना प्रकाशित गरेको थियो । उसले यही सुचनामार्फत नै बोर्ड हटाउन निर्देशन दिएको थियो ।
त्यस पछि बोर्ड हट्यो । बोर्ड हटे पछि गत चैत १४ गते बुधवार मेयर बालेनले बोर्ड हराएको सुचना भन्दै अर्को फेसबुक स्टाटस लेखे । उनले चक्रपथ सुधारको काम समय सम्पन्न नहुँदा त्यहाबाट उड्ने धुलोले उपत्यकाबासी प्रताडित हुँदा पनि समस्या सम्बोधन नभएकोमा फेरि असन्तुष्टि व्यक्त गरे ।
महानगर यतिमा मात्र रोकिएन । महानगरले राखेको बोर्ड नै हराएको भन्दै काठमाडौँ महानगरपालिकाले चोरीको घटनाको अनुसन्धान गरी कारबाही गरिदिने सम्बन्धमा जिल्ला प्रहरी परिसरमा उजुरी नै दियो ।
सूचना बोर्ड चोरी भएको जिकिरसहित चोरीको आवश्यक छानविन गरी दोषी उपर हदैसममको कारबाही गरिदिन महानगरले अनुरोध गरेको थियो ।
विषय कस्ले कहाँ फोहोर फाल्यो भन्दा पनि व्यवस्थित रुपमा पूर्वाधार निर्माण नहुँदा देखिएको आक्रोस र अन्योल हो । पूर्वाधार निर्माणमा देखिएको विलम्वको कारण धुलोले काठमाडौँ उपत्यकाबासी आक्रान्त छन् ।
केन्द्र र स्थानीय सरकारबीच विवाद भन्दा पनि आवश्यक समन्वय गरी समस्या समाधान गरे काठमाडौँबासीले धुलोबाट राहत पाउने थिए ।
