काठमाडौँ । नेपाली काँग्रेसले एमालेका अध्यक्ष केपी ओलीप्रति लगाएको आरोपले एमाले नेताहरु क्रुद्ध भएका छन् । काँग्रेसले लिखित रुपमा र सार्वजनिक रुपमा माफी नमागे एमाले चुप नबस्ने चेतावनी दिइएको छ ।
सोमवार सहकारी प्रकरणबारे सहमति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलहरुको संयुक्त बैठक निष्कर्षविहीन रह्यो । सो बैठकबाट बाहिरिएपछि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष ओलीप्रति नेपाली काँग्रेसले लगाएको आरोपमा माफी माग्नुपर्ने बताए ।
काँग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको पौडेलको भनाइ छ । काँग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रुपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने उनले चेतावनी दिए ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन काँग्रेस तयार नरहेको आरोप लगाउँदै उनले काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा नरहेको बताए । सान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा काँग्रेस लागेको उनको भनाइ छ ।
‘नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्नेकुरा पछिल्ला दिनका घटनाक्रमहरुले, पछिल्ला दिनका उसका अभिव्यक्तिले संकेत गरिरहेको छ,’ पौडेलले भने, ‘विशेष गरी एउटा असान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली काँग्रेस लागेको छ । पछिल्ला दिनमा नेकपा एमालेका बिरुद्ध, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका बिरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहिन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहिन लाञ्छनाहरुको प्रचार गरिरहेका छन् । सबैभन्दा पहिला नेपाली काँगे्रसलाई आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गन चाहन्छु । नेपाली काँग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरुबाट पछि हट्दैन भने नेकपा एमाले यस्त अभिव्यक्तिका बिरुद्धमा राजनीतिक प्रतिवादमा उत्रिन्छ ।’
अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरु सुनेर एमाले नबस्ने भन्दै पौडेलले थपे, ‘हाम्रो स्पष्ट भनाइ के छ भने नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, काँग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमा याचना गर्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ । अन्यथा नेपाली काँग्रेससँगको हाम्रो सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन ।’
