News 24 Television
गिरिबन्धुमा आरोप–प्रत्यारोप, काँग्रेसले माफी नमागे प्रतिकारमा उत्रिने एमालेको चेतावनी

काठमाडौँ । पछिल्लो समय संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच द्वन्द्व चर्किंदै गएको छ । एकले अर्कोलाई आरोप–प्रत्यारोप तथा निषेधको हर्कतमा उत्रिँदा यी दुई दलका प्रमुख नेता तथा सांसदहरु भिडन्तकै स्वरुपमा उत्रिएका छन् । जेठ ३ गते बिहीबार साँझ बसेको प्रतिनिधि सभा (संसद)को बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच भिडन्तकै अवस्था सृजना भएको थियो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले रविलाई सुटुक्क रोस्टममा जान इशारा गरेपछि नजिकै बसेका कांग्रेस उपसभापति धनराज गुरुङ आक्रामक रूपमा ओलीमाथि खनिए ।  सो क्रममा एमाले अध्यक्ष ओली र कांग्रेस सांसद गुरुङ आमनेसामने भएका थिए । अन्य सांसदहरुले समेत धकेलाधकेल गरेका थिए । गुरुङ ओलीमाथि जाइलाग्न खोज्दा एमाले सांसदहरू महेश बर्तौला, ठाकुर गैह्रे लगायतले गुरुङलाई छेकेका थिए । त्यसयता संसदमा काँग्रेस झन् आक्रामक देखियो भने एमाले सांसदहरु पनि प्रतिकारमा उत्रिँदै आएका छन् । 

काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको अडान राखेर संसदमा नाराबाजी गर्दै आएको छ । तर एमालेले गृहमन्त्रीको हदैसम्म बचाउ गरिरहेको छ । सुरुमा ओलीले संसदीय छानबिन बन्नै नसक्ने भन्दै काँग्रेसलाई लल्कार्दै आएका थिए । काँग्रेसले अडान नछाडेपछि संसदीय समिति बनाउन सत्तापक्ष तयार त भयो, तर समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन । झन् एमाले अध्यक्ष ओलीको इशारामा समाभुख देवराज घिमिरे काँग्रेसलाई बोल्न नदिने र पेलेरै संसद बैठक अघि बढाउने हदसम्म पुगेका छन् । यसले दुई ठूला दलबीच संसदीय लडाइँ र मुठभेडको खतरा उत्पन्न गराइदिएको छ ।

यी दुई पार्टीबीच दुश्मनी बढ्नुको अर्को कारण हो– गिरिबन्धु टि–स्टेटको जग्गाकाण्ड । काँग्रेसले एमाले अध्यक्ष ओलीप्रति उक्त काण्डमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ । तर एमालेले भने काँग्रेसले निराधार आरोप लगाएको भन्दै लिखित रुपमा र सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिएको छ । 

सोमवार सहकारी प्रकरणबारे सहमति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलहरुको संयुक्त बैठकपछि बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले र अध्यक्ष ओलीप्रति नेपाली काँग्रेसले लगाएको आरोपमा माफी माग्नुपर्ने बताए । आफ्नो पार्टी र अध्यक्षविरुद्ध काँग्रेसले अराजनीतिक र पूर्वाग्रही आरोप लगाएको पौडेलको जिकिर छ । काँग्रेसले लिखित रुपमा माफी नमागेमा एमाले राजनीतिक प्रतिवादमै उत्रिने उनले चेतावनी दिए । असान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा काँग्रेस लागेको उनको भनाइ छ ।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार एमालेले रास्वपालाई सहकारी ठगीमा र गिरीबन्धु टि–स्टेट काण्डमा रास्वपाले एमालेलाई बचाउन साथ दिनेगरी ओली र रविबीच सहमति बनेको आरोप लगाएका थिए । त्यसपछि एमाले नेताहरु र विशेषगरी अध्यक्ष ओली रुष्ट भएका देखिन्छन् । महामन्त्री शर्माले वर्तमान सत्ता गठबन्धनलाई ‘सहकारी–बन्धु गठबन्धन’ भन्दै आपत्तिजनक अभिव्यक्ति समेत दिएका थिए ।

त्यसअघि जेठ २ गते एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालीन सरकारले टि–स्टेटको जग्गा दुईपटक गरी १९ विगाहा र ५१ विगाहा कमिसन खाएर बेच्न लगाएको आरोप लगाएका थिए । काँग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको भन्दै ओलीले तत्काल संसद बैठक सुचारु गराउने, संसदमा काँग्रेसलाई बोल्न नदिने र गिरिबन्धुको जग्गा बेच्नेहरुमाथि छानबिन गराउने बताएका थिए । 

गिरिबन्धु टि–स्टेटको जग्गाकाण्डमा काँग्रेसले बेचिखाएको आरोप ओलीले लगाए पनि उनी सत्तामा हुँदा बिचौलियाको पक्षमा नीति बनाएका थिए । ओली नेतृत्वको सरकारले २०७८ वैशाख १३ गते हदबन्दीभन्दा बढी रहेको ३४३ बिघा जग्गा प्रदेश– १ (कोशी प्रदेश) भित्रका जुनसुकै स्थानको जग्गासँग सट्टापट्टा गर्न पाउनेगरी स्वीकृति दिएर व्यक्तिका नाममा किनबेचको बाटो खोलिदिएको थियो । तर सर्वोच्च अदालतको हालैको फैसलाले ओली सरकारको उक्त निर्णय खारेज गरेको छ र हदबन्दीभन्दा बढी जग्गा प्रयोजनविहीन देखिएमा सरकारका नाममा ल्याउन आदेश समेत दिएको छ । सत्तामा हुँदा सबैजसो दल र नेताहरुले कुनै न कुनै काण्ड गरेकै छन् । खानेबेला मिलेर खान्छन् तर जब अनुसन्धानको कुरा उठ्छ, तब आफू चोखिन एक–अर्कोलाई धारे हात लाउने गर्छन् । एमाले–काँग्रेसबीच अहिले यही स्वार्थको लडाइँ चलेको बुझ्न गाह्रो छैन । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update