काठमाडौं । प्रदेश राजनीति अनुकुल देखि थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उत्साहित देखिएका छन् । समिकरणको प्रयासस्वरुप देउवाले विपक्षी दलबीचको भेटघाटलाई तिव्रता दिएका छन् । सबै विपक्षी दलहरुलाई एकजुट बनाएर गण्डकीमा कांग्रेस नेत्तृत्वको सरकारलाई बहुमत पु¥याउने र मधेशमा विपक्षी गठबन्धनको सरकारलाई जोगाउने रणनीति देउवाको रहेको छ । देउवाको सक्रियतालाई नियालीरहेका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन पुरै अवधि टिक्ने भन्दै काउन्टर प्रतिक्रिया दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिमा छलफल गर्न भन्दै बुधवार साँझ बुढानिलकण्ठस्थित आफ्नै निवासमा विपक्षी दलका नेताहरुलाई बोलाए । छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महन्थ ठाकुरका साथै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत पुगे । सत्ता गठबन्धनमै रहेका नेपाल पनि छलफलमा पुगेपछि राजनीति केही तरंगित बनेको छ ।
देउवाको छलफल गण्डकीमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्रीमा पुनःनियुक्त भएका कांग्रेसका सुरेन्द्रराज पाण्डे नेत्तृत्वको सरकारलाई बहुमत पु¥याउने प्रयासमा केन्द्रीत थियो । त्यसबाहेक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेशमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् ।
यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपा नेपालले कांग्रेससहित अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास गरिरहेको छ । देउवा निवासमा यस बिषयमा पनि छलफल भएको छ ।
विपक्षी दलहरुको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि पुगेपछि दुई प्रदेशको सत्तासँगै केन्द्रीय राजनीतिमै फेरबदल ल्याउने प्रयासमा देउवा रहेको बुझ्न सकिन्छ । नेपाल गठबन्धनभित्र आफुलाई तिरस्कार गरिएको भन्दै बेलाबेलामा रोष प्रकट गरिरहेका छन् । प्रधानमन्त्री बन्न नेपाल एकदमै लालायित छन् ।
अघिल्लो सत्ता गठबन्धनमा पनि उनी केही समय प्रधानमन्त्री बन्ने आन्तरिक सहमति थियो । तर कांग्रेसलाई हटाएर बनेको बनेको अर्को सत्ता गठबन्धनबाट नेपालले आफु प्रधानमन्त्री बन्ने सम्भावना देखेका छैनन् । नेपालको यही मनस्थितिलाई बुझेका देउवा उनलाई आफ्नो पक्षमा ल्याएर विपक्षी गठबन्धनलाई थप मजवुत बनाउन चाहन्छन् ।
देउवाको यही सक्रियताकै कारण सत्ता गठबन्धनमाथि पनि प्रश्न उठ्न थालेको छ । त्यसैले पनि प्रधानमन्त्री प्रचण्डका पछिल्ला दुई दिनयता सत्ता गठबन्धन केन्द्रीत प्रतिक्रिया आउन थालेको छ । बुधवार सिन्धुपाल्चोक र बिहिवार बिराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन पुरै कार्यकाल जाने भन्दै रक्षात्मक प्रतिक्रिया दिए ।
माधव नेपाल अस्थिर देखिएपनि गठबन्धनभित्रै रहेको प्रचण्डको प्रष्टोक्ति छ । तर पछिल्ला राजनीतिक घटनाक्रमले प्रधानमन्त्री प्रचण्डमा संसय भने पैदा भएको छ ।
त्यसैले नेपाल विपक्ष गठबन्धनको छलफलमा पुगेपछि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बोलाएर छलफल समेत गरिसकेका छन् ।
