News 24 Television
सत्ता समीकरणमा  फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ :  प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताइएका छन् । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गरे ।
 
        वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भने, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।”
 
        आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उनले दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताउनुभएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।
 
        प्रधानमन्त्री दाहालले ठूलो अन्योलको बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसद्मा बजेट प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन समेत दिए ।
 
        “बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ । बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ”, प्रधानमन्त्री दाहाललको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भने ।
 
        बैठकमा माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री दाहालले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताएको उनले जानकारी दिए ।

   बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराएका थिए । उनले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकांक्षा समेटिएको स्पष्ट पारे । बैठकमा १२ सांसदले  बजेटका सबन्धमा टिप्पणी गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update