काठमाडौं । सत्ता गठबन्धनजभित्र रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि गठबन्धनभित्र तरंग पैदा भएको छ ।
नेपालले कांग्रेस सभापति देउवालाई भेटेको दुई दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनभित्र चुुलिरहेको असन्तुष्टिकाबीच प्रचण्ड, ओली र नेपालबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललबीच भेटवार्ता भएको छ ।
शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन नेताबीच भेट भएको हो । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताएका छन् ।
भेटमा आईतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको थियो । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठस्थित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ ।
नेकपा एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई नेकपा एमालेले गम्भीरताका साथ लिएको बताएको छ ।
यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरुको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको बताएका छन् ।
नेपाल र देउवाबीच भेट भएकै कारण सत्ता समिकरण परिवर्तन हुन्छ कि भनेर आशंका गर्नु आवश्यक नरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
शुक्रवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सल्लाह गरेर नै काँग्रेसको बैठकमा सहभागी भएको प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
प्रधानमन्त्री दाहालले सत्ता पक्षका नेताहरु प्रतिपक्षको कुरा सुन्न उनीहरुको बैठकमा जाने गरेको भएपनि वर्तमान सत्ता समिकरण तलमाथि नहुनेमा ढुक्क हुन पनि पार्टीका सांसदहरुलाई आश्वास्त प्रमुख सचेतक पाण्डेको भनाइ छ ।
हतास माधवको द्वेध चरित्र
प्रधानमन्त्री दाहालले आफुसँग सल्लाह गरेरै माधव नेपाल कांग्रेससहितको विपक्षी मोर्चाको बैठकमा गएको दावी गरेपछि नेता नेपाल पछिल्लो समय हतास देखिएका छन् ।
प्रधानमन्त्री बन्ने लालसाले उनलाई बेलाबेला बेचैन बनाउने गरेको छ । सत्ता गठबन्धनभित्र पनि उनलाई प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले खासै भाउ दिएका छैनन् ।
माधव विच्किएर सार्वजनिकरुपमा बम्किन थालेपछि थामथुम पार्न दाहाल र ओलीले सान्त्वनास्वरुप भेट गर्ने गरेका छन् । त्यसैले पनि नेपालले आफुलाई गठबन्धनभित्र असुरक्षित महशुष गरिरहेका छन् ।
असुरक्षित महशुष गरेकै कारण नेपालले विपक्ष मोर्चासँगको संवादलाई पनि निरन्तरता दिइरहेका हुन् । तर उनको यही द्वेध व्यवहारका कारण गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।
दोहोरो रणनीतिका साथ अघि बढिरहेका नेपालप्रति एमाले पनि असन्तुष्ट छ । नेपालले गठबन्धन छोडिहाले पनि सरकारको अंक गणितमा भने कुनै असर पुग्दैन । तर केही प्रदेशहरुमा भने नेकपा एस निर्णायक हैसियतमा छ ।
