काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल आफूसँग सल्लाह गरेरै विपक्षी दलको बैठकमा गएको खुलासा गरेका छन् । बुधबार सत्ता घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका माधव काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलहरूको बैठकमा सहभागी भएका थिए ।
त्यस घटनाले राजनीतिक वृत्तमा तरंग सृजना भइरहेको र एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धन धरापमा पर्ने विश्लेषण भइरहेको अवस्थामा प्रचण्डले उक्त खुलासा गरेका हुन् । जबकि बिहीबार चाहिँ प्रचण्डले माधवलाई फोन गरेको र उनी सत्ता समीकरणभन्दा बाहिर नजाने बताएका थिए ।
पटक–पटक आफू प्रधानमन्त्री बन्ने दाउ खोजिरहेका माधव कहिले यता र कहिले उता जाने गरिरहेका छन् । उनलाई वर्तमान सत्ता गठबन्धनमा एमाले अध्यक्ष केपी ओलीले गर्ने व्यवहार मन नपर्ने गरेकोले यो गठबन्धनको विकल्प खोजिरहेको आरोप लाग्ने गरेको छ । एमालेले उनलाई प्रधानमन्त्री बनाउन नचाहने भएकाले पनि उनी काँग्रेससँग निकट हुन खोजिरहेको बताइन्छ । तर प्रधानमन्त्री प्रचण्ड भने माधव आफूसँग सल्लाह नगरी वर्तमान सत्ता समीकरण भन्दा बाहिर नजाने भएकाले सरकार परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न बताइरहेका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले सत्ता समीकरण तलमाथि नहुने कुरामा ढुक्क रहन पार्टीका सांसदहरुलाई आग्रह गरे । उनले एकीकृत समाजवादीका अध्यक्ष माधव आफूसँग सल्लाह गरेर नै काँग्रेसको बैठकमा सहभागी भएको जानकारी गराए । बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो कुरा बाहिर ल्याएका हुन् । पाण्डेका अनुसार प्र्र्रधानमन्त्री प्रचण्डले आफूले पनि काँग्रेस नेतृत्वसँग भेट्ने गरेको खुलासा गर्दै त्यस्ता भेटहरुमा कुनै दोधार नहोस् भनी आपसी छलफल गरेर मात्रै जाने गरेको ब्रिफिङ गरेका थिए । प्रतिपक्षका कुरा सुन्न उनीहरुको बैठकमा जाने गरेको भए पनि वर्तमान सत्ता समीकरण बिगार्ने उद्देश्यले नगएको प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पूरै कार्यकालसम्म रहने दाबी गर्दै आएका छन् । शुक्रबार पनि उनले यो कुरा संसदीय दलको बैठकमा दोहोर्याएका छन् । उनले केही दिनअघि आफू पनि देउवा निवास पुगेको स्मरण गराउँदै विपक्षी दलको बैठकमा जाँदैमा सरकार परिवर्तन नहुने र पाँचै वर्ष टिक्ने बताए । विपक्षी दलहरु मिलेर सरकार ढाल्न अनेक रणनीति अपनाएको भए पनि तत्कालका लागि त्यो प्रयास असफल भइसकेको पनि प्रचण्डले सुनाए ।
यसअघि काँग्रेस लगायत विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछानेलाई टार्गेट गरी संसदमा निरन्तर अवरोध गर्दै आएका थिए । रविलाई सहकारी प्रकरणमा मुछेर सरकारबाट निस्कन बाध्य पारिएमा प्रचण्ड सरकार ढल्ने काँग्रेसको बुझाइ थियो । तर तत्कालका लागि त्यो प्रयासमा काँग्रेस सफल देखिएको छैन । प्रचण्डले काँग्रेसलाई मनाएर मध्यमार्गी बाटोबाट संसदीय छानबिन समितिमा सहमति जुटाउँदै संसद अवरोध खुलाउन सफल भए । र, बजेट पनि समयमै ल्याउन सफल भए । शुक्रबारको बैठकमा उनले यस कुराको पनि ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारभित्रैका दलहरुबाट बजेट ल्याउन आफूलाई अप्ठेरोमा पारेको समेत बताएका छन् । तर आफूले ठूलो संघर्ष गरेर बजेट ल्याउन सफल भएको उनको भनाइ छ ।
शुक्रबार माधवले पनि प्रचण्ड सरकारको प्रशंसा गरेका छन् । सरकारले कृषि क्षेत्रका लागि ल्याएको बजेट साह्रै राम्रो लागेको उनले टिप्पणी गरेका छन् । उनले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरण रहेको बताउँदै आफू सहज ढंगले राजनीति अघि बढ्नुपर्ने पक्षमा रहेको समेत बताए ।
प्रधानमन्त्री प्रचण्ड विपक्षी दल काँग्रेसप्रति नरम नै देखिएका छन् । सत्तारुढ एमाले अध्यक्ष ओली भने यतिखेर काँग्रेसप्रति सबैभन्दा आक्रामक देखिएका छन् । माधव पनि एमालेप्रति गरम र काँग्रेसप्रति नरम देखिन्छन् । प्रचण्ड-माधवको यो रहस्यमयी खेल ओलीप्रति दुवै नेताको उति भरोसा नहुनु पनि हो ।
