News 24 Television
पुराना दल किन खनिँदै छन् रास्वपामाथि ? दोष थोपरेर पन्छिन खोजेको आरोप !

काठमाडौँ । पछिल्लो समय नयाँ र पुराना राजनीतिक दलबीच संघर्ष बढ्दै गएको छ । सदनभित्र र बाहिर पुराना ठूला दलले नयाँ साना दलहरुलाई खुल्याउन केही बाँकी राखेका छैनन् । यतिसम्म कि सत्ता गठबन्धनमै रहेका एमाले अध्यक्ष केपी ओलीले समेत रास्वपाका मन्त्रीहरुलाई आलाकाचा भन्दै कडा टिप्पणी र हतोत्साहित गर्दै आएका छन् । उता प्रमुख प्रतिपक्षी दल काँग्रेसले त सरकारमा रास्वपाको उपस्थिति सहनै सकेको छैन । अनेक निहुँ खोजेर संसदभित्र र बाहिर रास्वपाको खेदो खनिरहेछन् काँग्रेस नेताहरू ।

यसै सन्दर्भमा रास्वपाका सांसद मनिष झाले पुराना पार्टीहरू देशको अवस्था रास्वपाले बिगारेको भनेर दोष थोपरेर आफूहरु पन्छिन खोजेको आरोप लगाएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा राजनीति, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए । यसमा रास्वपाले देश बिगारेको भन्दै केही पुराना दलका नेताहरु पन्छिन खोजेको उनले बताए । आफूहरु राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको स्मरण गराउँदै सांसद झाले आफूहरु राम्रो काम गर्ने प्रयासमा रहेको बताए । आफूहरू केही काम नपाएर राजनीतिमा नआएको स्पष्ट पार्दै उनले देशप्रति आफूहरु पनि चिन्तित रहेको बताए । 

रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई मुख्य तारो बनाइरहेका काँग्रेस सांसदहरुले आइतबार पनि उनीविरुद्ध विषवमन गर्न छोडेनन् । काँग्रेस सांसद रामहरि खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाएर गृहमन्त्रीले हुकुमी शासन लादेको आरोप लगाए । गृहमन्त्री लामिछानेले केही दिनअघि निर्देशन जारी गर्दै मापसे गरेर सवारी साधन चलाउने र ट्राफिक जरिवाना तिर्न नसकेकाहरुलाई सडक स्वयंसेवा गर्न लगाएका थिए । यसप्रति आपत्ति जनाउँदै खतिवडाले सो काम तुरुन्त रोक्नुपर्ने बताए । मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै उनले कानूनबिना त्यसरी मानिसलाई स्वयंसेवा गराउन नहुने उनको भनाइ छ । पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक चलाउन नसकिने उनले बताए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको आरोपमा संसदमा काँग्रेसले लामै अवरोध गरेको थियो । संसदीय छानबिनमा रविको नामै किटेर जानुपर्ने अडानमा रहेको काँग्रेस पछि त्यो अडानबाट भने पछाडि हट्यो । काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सुरुदेखि नै गृहमन्त्री दोषी रहेको बताउँदै आएका छन् । काँग्रेसको माग अनुसारै सरकारले सहकारी प्रकरण र गृहमन्त्री रविको संलग्नताबारे छानबिन गर्न संसदीय समिति नै बनाइसकेको छ । तर पनि काँग्रेस सांसदहरु यसबारे संसदमा कुर्लन छाडेका छैनन् । 

आइतबार महामन्त्री थापाले छानबिन समितिले गृहमन्त्री लामिछानेलाई नछाड्ने बताए । सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्रीलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने उनको भनाइ छ । गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जिवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानबिन गरी कानूनी कारबाहीको लागि सिफारिस गर्ने उनको भनाइ छ । छानविन समितिमा बसेका सबै सदस्यहरुले त्यसका लागि जिम्मेवार भएर काम गर्ने अपेक्षा समेत आफ्नो पार्टीले गरेको उनको भनाइ छ ।

केही राम्रो काम गर्छौं, युगौ जकडिएका समस्या समाधान गरी जनताको हितमा सेवा दिन्छौँ भनेर उदाएका लामिछाने लगायत रास्वपाका नेताहरु अहिले सरकारमा छन् । डेलिभरी दिनका लागि सरकारमै जानुपर्ने बताउँदै आएका उनीहरु अहिले गरेर देखाउनुपर्ने ठाउँमा छन् । यद्यपि सरकारमा गएको तीन महिना पनि पूरा भइनसकेकाले उनीहरुको कामको समीक्षा गर्ने बेला भएको छैन । तर यस अवधिमा केही जनमुखी र आशा जगाउने काम रास्वपाका मन्त्रीहरुले गरेका छन् । यद्यपि ठूला र पुराना दलहरुको हप्कीदप्की, असहयोग र पेलानका बीच टिकेर नतिजा दिनु पक्कै पनि चुनौतीपूर्ण कार्य हो । 


 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update