News 24 Television
विद्युतीय सवारीमा बढाइएको कर फिर्ता लिन लिङदेनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन आग्रह गरेका हुन् । उनले विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको बेला विद्युतिय सवारीमा कर लगाइनु उचित नभएको बताए । पहिलेको जस्तो करको दरमा विवादहरु कम भए पनि विद्युतीय सवारीमा कर बढाउनु राम्रो नभएको उनको भनाइ छ ।

‘हामीले प्राथमिकतामा राखेको विद्युतिय सवारीहरुमा जुन कर लगाइयो त्यो अर्थमन्त्रीले फिर्ता लिन मिल्छ भने, हाम्रो सुझाव लाग्छ भने त्यो फिर्ता लिए राम्रो हुन्छ,’ उनले भने, ‘किनभने अहिले पेट्रोलियम पदार्थ आयातमा कति पैसा बाहिर पठाउँछौँ ? विद्युत खपतको बलियो माध्यम विद्युतीय गाडी हो । इन्डक्सन चुल्हो हो । कसैको कुरा सुनेर कर लगाउनु हुन्नथियो ।’

कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनी विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको भन्दै उनले सधैँभरि अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याउनाले असफल भएको बताए  । 

‘अर्थमन्त्रीले जुन बजेट प्रश्तुत गर्नुभएको छ, परम्परागत बजेट र त्यो ढाँचामा भन्ने हो भने उहाँले धेरै विवादास्पद कामहरु गर्नुभएको छैन । गिजोल्नु भएको छैन,’ लिङ्देनले भने, ‘यति संकलन हुन्छ । यसरी संकलन गर्ने, यसरी बाँड्ने । सकेसम्म सबैको चित्त बुझाउने । आफ्नो कार्यकर्ताको लागि पनि अलिकति ठाउँ राख्ने मिलाउनुभएको छ । परम्परागत रुपमा जे बजेट आउनुपर्ने हो त्यसमा धेरै टिप्पणी गर्नुपर्ने कुरा छैन । तर नेपालको अर्थतन्त्रको अहिलेको जे अवस्था हो, यो बजेटले हामीलाई छलाङ मार्न अथवा अब हामी सुध्रियौँ देश सुधार तर्फ गयो भन्ने आशा जगाउने काम गर्न सक्दैन । हामीले सधैँ अनुमान, अनुदान र ऋण यि तिनवटा चिजलाई समाएर बजेट बनाइराखेका छौँ । र त्यसमा हामी सधैँ असफल भइराखेका छौँ भने यो चोटीपनि पुग्दैन भन्ने थाहा छदैछ । अलि फरक ढंगले सोच्नुपथ्र्यो ।’

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update