काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने अन्तिम तयारीमा छ । पार्टीभित्रको विवाद उत्कर्षमा भएपनि यथास्थितिमै रहेको नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयार भएपछि सरकार विस्तारको योजनामा प्रधानमन्त्री प्रचण्डले छलफल तीव्र बनाएका छन् ।
मिलिजुली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डलमा हेरफेरको तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका कारण मन्त्री फिर्ता बोलाउने विषयमा असहज स्थिति बनेपछि प्रचण्डले आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।
माओवादी केन्द्रभित्र सबै मन्त्री फिर्ता बोलाउने गरि छलफल चलिरहेको छ । तर, अर्थमन्त्री भने यथावत रहनेछन् । यस्तोमा एमालेबाट समेत केहि मन्त्री फिर्ता गर्ने तयार छ । साथै नाउपालाई सकारमा ल्याउने तयारी गरिएको छ ।
नाउपा अध्यक्ष रञ्जिताले नै आफ्नो पार्टी पर्यटन मन्त्रालय लिएर सरकारमा जान लागेको खुलासा गरिसकेकी छन् । नाउपालाई पर्यटन मन्त्रालय र एक राज्य मन्त्री दिने सहमति जुटेको उनको दाबी छ । यस्तोमा नाउपाबाट उनी नै सरकारमा जाने तयारीमा रहेको बताइन्छ ।
नाउपालाई किन ल्याइदैछ सरकारमा ?
सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नाउपाको समर्थन सत्ता गठबन्धनलाई अनिवार्य छ । यता, सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीले सरकार विस्तार गर्न नसक्दा नाउपाले असन्तुष्टि पोखिरहेको छ ।
एमाले–माओवादी केन्द्रले मन्त्रीको नाम नदिएर नेकपा एसलाई सकसमा पारिरहेका बेला नाउपाको सेटलमेन्ट केन्द्र सरकारमा गर्ने तयारी गरिएको छ ।
नेकपा एसलाई सुदूरपश्चिममा सघाउने र केन्द्रमा नाउपालाई सरकारमा ल्याएर सुदूरपश्चिमको घाटा पुर्ति गर्ने गरि नेताहरुले गृहकार्य अघि सारेका छन् । तर, नेकपा एसले मन्त्री फिर्ता बोलाउने छाँट देखाएको छैन् ।
यस्तोमा गठबन्धनलाई बलियो पार्न एमाले र माओवादी केन्द्रले नै मन्त्री फिर्ता बोलाएर नाउपालाई सेटल गर्ने तयारी गरेका छन् ।
मधेसबाट अर्को राजनीतिक प्रयोग
सत्ता गठबन्धनले सीके राउतको जनमत पार्टीलाई पनि गठबन्धनको हिस्सेदार बनाउने कोसिसलाई अन्तिम रुप दिने तयारी गरेका छन् ।
मधेसका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने तयारी गरिरहेको स्थितिमा अब मधेस सरकारको नेतृत्व पहिलो चरणमा जनमतलाई दिने र त्यसपछि अन्य राजनीतिक माहोल मिलाउदै जाने तयारी गरेको देखिन्छ ।
मधेसमा जनमतको सरकारलाई नेकपा एससहित माओवादी र एमालेले पनि समर्थन गर्ने र अन्य दललाई पनि गठबन्धनमा ल्याउने गरि तयारी चलिरहेकाले मधेसमा पनि सत्ता राजनीति चरम उत्कर्षमा पुग्ने देखिन्छ ।
