काठमाडौँ । नेकपा एमालेका सांसदहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को अभिव्यक्तिले हद नाघेको भन्दै आक्रोश र आपत्ति पोखिरहेका छन् । बजेटमाथिको छलफलको क्रममा एमाले सांसदहरुले बालेनले एमाले अध्यक्ष केपी ओलीमाथि लान्छना लगाएको भन्दै प्रश्न मात्रै गरिरहेका छैनन्, अभिव्यक्ति सच्याउनुपर्ने चेतावनी समेत दिन थालेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’ अनेक अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । मनमा लागेको कुरा निर्धक्क लेख्ने बालेन विवाद र वाहवाहीका पात्र बनिरहेका छन् । उनले राजनीतिक नेतृत्वमाथि गर्ने प्रहारलाई लिएर पछिल्लो समय शीर्ष तहका नेताहरुबाट आलोचना र कटाक्ष समेत पाउने गरेका छन् । यस्तोमा काठमाडौंको न्यूरोड क्षेत्रमा सडकलाई फुटपाथ ठूलो बनाउने भन्दै बालेनले चालेका कदममा राज्यको हस्तक्षेपपछि स्थितिले अर्को रुप लिन थालेको छ ।
न्यूरोडको सडक साँघुरो बनाएर फुटपाथ बढाउने गरि अभियान थालेका बालेनलाई सडक विभागले चुनौति दिएपछि यो प्रकरणमा जोडिए, एमाले अध्यक्ष केपी ओली । ओलीमाथि गिरिबन्धु टि–स्टेटको जग्गा अपचलन गर्नलाई दशौं लाख करोड रकम घुस लिएको खुलेआम आरोप लगाएपछि बालेन चर्चा र आलोचनाको सिकार बनिरहेका छन् ।
गिरिबन्धु टि–स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने कानून बनाउदा प्रधानमन्त्री रहेका ओलीले कानून बनाएर जग्गालाई निकास दिन खोजेको दाबी गरेपनि सर्वोच्चले जग्गा सट्टाभर्ना हुन नसक्ने भन्दै कानून नै बदर गरिदिएपछि नैतिक संकटमा परेका ओलीमाथि प्रतिपक्षी बेञ्चमात्रै नभएर बालेन पनि खुलेआम आरोप लगाउने होडमा थपिन पुगे ।
त्यसपछि एमाले सांसदहरुले संसदमै उनको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् । एमाले सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले बालेनमाथि प्रश्न नै प्रश्न गरेका छन् ।
योगेशले मात्रै नभई प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक महेश बर्ताैलाले पनि प्रश्न गरेका छन् । बालेनले आफ्नो अभिव्यक्ति तत्काल सच्याउनुपर्ने उनको माग छ ।
उसो त बालेनले आरोप लगाएको विषयमा ओलीले समेत झर्को मान्दै आक्रोश पोखिसकेका छन् ।
गिरिबन्धुले ओलीमाथि नैतिक प्रश्न
गिरिबन्धु टि–स्टेटको जग्गा प्रकरणले केपी ओलीमाथि नीतिगत भ्रष्टाचार गरेको आरोप लागिरहेको छ । जग्गा सट्टाभर्ना गर्न दिन कानून बनाएका ओलीले त्यसमा आफ्नो कुनै बदनियत नरहेको दाबी गरेपनि ठूलो धनराशी पर्ने गिरिबन्धुको जग्गा सट्टाभर्ना गर्न दिने कानून निर्माणको बाटो नै रहस्यमय देखिन्छ ।
तर, एमालेले भने त्यो बेला कसैले पनि किन संशोधन हालेन भन्दै प्रश्न गरिरहेको छ । एमालेले गरेको प्रश्न जायज भएपनि गिरिबन्धु प्ररकणमा सर्वोच्चको फैसलापछि भने स्थिति अर्को मोडमा पुगेको छ । जग्गा सट्टाभर्ना गर्न दिने कानून बनाएका ओलीमाथि राजनीतिक र नैतिक प्रश्न उठेपछि बालेनले उठाएको प्रश्नमा समेत ठूलो समर्थन देखिन्छ ।
