News 24 Television
मन्त्रीको विरोध, बजेटप्रति असन्तुष्टि ! के हो ओली रणनीति ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमाथि संघीय संसदमा छलफल चलिरहेको छ । एमालेसहितको सत्ता गठबन्धनले ल्याएको बजेटको सत्ता गठबन्धनबाटै आलोचना भइरहेको छ । एमाले सांसदहरुले मात्र नभई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बजेट माओवादी पार्टीतिर ढल्किएको आरोप लगाएका छन् । संसदमा छलफल हुनु एक दिनअघि ओलीको यस्तो अभिब्यक्ति आएसँगै अन्य सांसदहरुले पनि बजेटको आलोचना गरेपछि सत्ता समीकरणभित्र दरार पैदा भएको संकेत देखिएको छ । 

अहिलेको सत्तासमीकरणको सबैभन्दा ठुलो र बलियो शक्ति हो नेकपा एमाले । एमाले कै बलमा प्रचण्ड नेतृत्वको सरकार टिकिरहेको छ । प्रतिपक्षबाट सरकारको आलोचना हुँदा प्रतिरक्षामा एमाले र एमाले अध्यक्ष ओली नै अग्रभागमा देखिन्छन् । तर, उनै ओलीको बोली सरकारमा गरेको मन्त्री र नीतिलाई लिएर बदलिँदै छ । उनले केही दिन अघि मात्र रास्वपालाई भगेरासँग तुलना गरेका थिए । काँग्रेसको प्रहार निस्तेज पार्ने अभिप्रायले उनले यस्तो बोले वा रास्वपाप्रति उनको धारणा नै त्यही हो त्यो त ओलीलै नै जानुन् । तर, उनले शिक्षा मन्त्री सुमना श्रेष्ठ लक्षित गरी दिएको अभिव्यक्ति अहिले चर्चामा छ । 

आफ्नै सरकारका मन्त्रीप्रति ओलीको उक्त बोलीले रास्वपा कै एउटा पंत्ति भने झस्किएको छ । 

बजेटमा असन्तुष्टि !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठ १५ गते बजेट घोषणा ग¥यो । तर, उक्त बजेटलाई लिएर सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै असन्तृष्टि जनाए पछि अहिले अब फेरि सत्ता समीकरण के होला भन्ने विषयमा विभिन्न अडकलबाजी सुरु भएको छ । एमाले अध्यक्ष ओलीले बजेट प्रति असन्तुष्टि जनाएका थिए । 

तर, ओलीको यो असन्तृष्टि लामो समयसम्म रहेन । उनले आफ्नो असन्तुष्टि भन्दा पनि पर्याप्त छलफल गरेको भएको हुने भन्ने आशय रहेको प्रस्टोक्ति दिए । 

उता, एमाले सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेटमा ५ खर्ब भन्दा बढीको स्रोत सुनिश्चितता दिइएको भन्दै आपत्ति जनाए । 

एमाले सत्ता मै भए पनि बजेटबारे छलफल नभएको भन्दै असन्तुष्टि जताइरहेको छ । त्यस अघि नेकपा माओवादी र काँग्रेसबीचको गठबन्धन टुट्दा पनि काँग्रेसबाट अर्थमन्त्री रहेका प्रकाशशरण महतसँगको असन्तुष्टि प्रमुख कारक रहेको थियो । त्यसैकारण पनि एमाले र माओवादीबीच बजेटलाई लिएर देखिएको विवाद साघुरिनुको साटो बढ्यो भने यसले राजनीतिक परिदृश्य बदलिन सक्छ । बजेटको विषयलाई लिएर सत्तागठबन्धनमा खटपटको विषय बाहिर आए पछि भने त्यसलाई एमाले नेताहरुले अस्वीकार गर्न थालेका छन् । उनीहरुले बजेटबारे केही सुझाव रहे पनि कुनै गठबन्धन मै असन्तुष्टि भने नरहेको बताइरहेका छन् । 

उता, गठबन्धनको भविष्यलाई लिएर माओवादीले पनि प्रष्टिकरण दिएको छ । गठबन्धनको भविष्यबारे कुनै पनि शंका नगर्न माओवादी सांसद माधव सापकोटाको आग्रह छ । 

गत फागुन २१ गते माओवादीले काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेको थियो । तर, माधव नेपाल अहिलेको गठबन्धन प्रति असन्तुष्ट रहनु र एमालेले पनि बजेटबारे असन्तुष्टि जनाए पछि प्रचण्ड नेतृत्वको सरकारको भविष्यलाई प्रश्न उठेको हो । 

ओली रणनीति  

एमाले आफूलाई नेपालको निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थपित गर्न प्रयास गरिहेको छ । प्रतिनिधि सभाको विघटन पछि जसरी एमाले राष्ट्रिय राजनीतिमा एक्लियो, अब उसले माओवादीलाई आफ्नो पोल्टामा ल्याए पछि विस्तारै राजनीति पनि आफू अनुकुल बनाउँदै लगेको छ । 

नयाँ भनिएका शक्तिको सार्वजनिक ओजलाई घटाउने विषय होस् वा काँग्रेसलाई सत्ता बाहिर राख्ने विषय । यसले एमालेलाई फाइदा नै पराइरहेको छ । ओली अबको चुनावमा एमालको एकल बहुमतको लागि प्रयासरत छन् । 


 


 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update