News 24 Television
मधेशमा कसरी बढारियो उपेन्द्र यादवका पार्टी ? 

काठमाडौं । मधेस प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । संघीयतापछि जनता समाजवादी पार्टीले नेतृत्व गर्दै आएको मधेसमा अब जनमत पार्टीले नेतृत्व लिएको छ । 

उपेन्द्र यादव नेतृत्वको जसपामा भएको विभाजन र त्यसपछिका राजनीतिक तरङ्गले मधेसमा नयाँ अवस्था सिर्जना भइरहेको छ । 

मधेस प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका छन् । सतिसकुमार मुख्यमन्त्री बन्ने विषयले जनमत पार्टीमा हलचल देखिएपनि मधेसले नयाँ गति लिने दलका नेताहरुले दाबी गरिरहेका छन् । 

मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै सपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री सिंहले नवनियुक्त मन्त्रीको सपथ समेत गराएका छन् । 

सरकार विस्तारपछि उनले मधेसमा लगानी सम्मेलन गर्ने घोषणा समेत गरेका छन् । पदभार ग्रहणको क्रममा बोल्दै मुख्यमन्त्री सिंहले कृषी, डिजिटल तथ्याङ्कदेखि वैदेशिक रोजगारीबाट फर्किएकालाई व्यवस्थापन गर्नेदेखि मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेका हुन् । 

राजनीतिलाई नयाँ मोडमा लैजाने दाबी गर्ने जनमत पार्टीले मधेसको नेतृत्व लिएसँगै मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । 

सतिशकुमारलाई जुरेको अवसर

गाउँपालिका अध्यक्षमा पराजित बनेका सतिशकुमार सिंह प्रदेसशभा सदस्य हुँदै मुख्यन्त्री बन्ने भाग्यमानी नेता बनेका छन् । 

उनी २०७९ को स्थानीय तहको निर्वाचनमा  तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा राजपाबाट उम्मेदवार भई पराजित भएका थिए । 

त्यसपछि उनी ०७९ भदौमा जनमत पार्टी प्रवेश गर्दै सप्तरीको निर्वाचन क्षेत्र नम्बर २(१) बाट प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

उसोतः  सप्तरी–२ जनमत अध्यक्ष सीके राउत निर्वाचित भएको क्षेत्रसमेत हो ।

वुवा र छोराको संयोग

मधेसका मुख्यमन्त्री सिंहका वुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । २०७६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका शेखरकुमार लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । 

यसरी अहिले सतिशका वुवाको पार्टी केन्द्र र प्रदेशमा प्रतिपक्षी वेञ्चमा छ । तर, छोरा भने प्रदेशमा सत्तापक्ष बनेका छन् । 

मुख्यमन्त्री सतिसलाई १०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसदसहित संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरुले समर्थन गरेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update