काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालप्रति पुनः आक्रोश पोखेका छन् । सकारात्मक बन्न अपिल गरिरहेका माधवप्रति आक्रोश पोखिरहेका ओलीले सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीलाई चिढ्याउने गरि अभिव्यक्ति दिएका हुन् । तर, माधव नेपाल भने केहि लचक देखिन्छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटनलाई प्रतिष्ठाको विषय भएको बताउँदै आएका छन् । संसद विगटन नगरेको भए आज एमाले भन्ने पार्टी नै नहुने दाबी गर्दै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हिडेको भन्दै माधव नेपालप्रति पुनः तुष पोखेका छन् ।
ओलीले माधवप्रति आक्रोश पोखिरहेको बेला नेपाल भने आवेग लामो समयसम्म पाल्न नहुनेमा जोड दिइरहेका छन् । प्रधानमन्त्री प्रचण्डको सराहना गरेका नेपालले ओलीलाई विगतका कुरा विर्सिन अपिल गर्दै मुर्मुरिने काम गर्न नहुनेमा बताइरहेका छन् ।
ओली–नेपाल तुष
तत्कालीन नेकपाकालमा नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्यमा माधव नेपालले अर्का अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध घरेबन्दी गरे ।
ओलीलाई प्रचण्ड–माधव पक्षले कारबाही गर्नेदेखि संसदीय दलको नेतामा प्रचण्डलाई चयन गर्ने काम भयो । त्यसपछि ओलीले पनि छुट्टै गतिविधि गर्दै संसद विघटनसम्मका काम गरे भने संसद विघटनलाई लिएर नेकपाको अस्थित्व हराउदै तीनवटा पार्टी बने ।
अदालतले नै नेकपालाई एमाले, माओवादी केन्द्र बनाइदिए पछि एमालेबाट छुट्टिएर माधवको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो भने यहि टोलीले ओलीलाई प्रधानमन्त्रीबाट प्रतिपक्षमा पु¥याउदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएको थियो ।
त्यो क्षण ओलीले अहिलेसम्म पनि भुल्न सकेका छैनन र माधवप्रति आक्रोश पोखिरहन्छन् ।
संसद विघटनको विषय
संसद विघटनपछि प्रचण्ड–माधवले कांग्रेससँगको सहकार्यलाई तीब्रता दिए । गएको निर्वाचनमा गठबन्धन नै गरेर निर्वाचनमा होमिए भने ओलीले पनि सकेको प्रयाससहित पार्टीलाई दोश्रो स्थानमा पु¥याए ।
निर्वाचन परिणामपछि प्रचण्डलाई कांग्रेस प्रधानमन्त्री दिन तयार नभएपछि एमाले र माओवादी केन्द्रबीच फेरि सत्ता सहकार्यबाट यात्रा सुरु भयो ।
सत्ता यात्रा गरेका प्रचण्ड–ओली लामो समय भने टिक्न सकेनन् । यसको कारण प्रधानमन्त्री प्रचण्डले बताउने गरेको आधारलाई विश्वास गर्ने हो भने ओलीले संसद विघटन गर्ने विषय सही थियो भन्नु पनि हो ।
ओलीले संसदमै उभिएर संसद विघटन सहि थियो भनेपछि आफू झस्किएको दाबी गर्दै एमालेसँगको सत्ता सहयात्रा दुई महिना नपुग्दै तोडेको प्रचण्डले बताएका थिए । तर, प्रचण्ड फेरि कांग्रेस छाडेर गएको फागुन २१ गतेदेखि एमालेसँगको सहकार्यमा आइपुगे । तर, ओलीले फेरि संसद विघटन सहि थियो भन्न थालेका छन् । ओलीको यो गतिविधिले अब के होला ?
यो विषय चासोमा छ । उसोतः सत्ता गठबन्धनभित्रको राजनीति अहिले पनि सहज देखिन्न । बजेटलाई लिएर विवाद चलिरहेको छ तर, सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा भने उनीहरु एकमत रहेको दाबी गरिरहेका छन् । यद्यपी, ओलीले पुनः संसद विघटन सहि थियो भन्दै हिड्ने गरेपछि अब प्रधानमन्त्री प्रचण्डले के गर्लान ? यो चासोको विषय बनेको छ ।
