News 24 Television
प्रचण्डलाई के हुनेछ मोदीको कोसेली ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् ।

सानो आकारको टोली लिएर प्रचण्ड आइतबार दिल्ली जाने कार्यक्रम तय भएको छ भने, मोदीको सपथमा प्रचण्डको सहभागीताले ठूलो कूटनीतिक अर्थ राख्ने विश्लेषण भइरहेको छ । 

भारतको प्रधानमन्त्रीमा नियुक्त भएका नरेन्द्र मोदीले आइतबार पद तथा गोपनियताको सपथ लिदैछन् । 

मोदीको सपथग्रहण समारोहमा विभिन्न देशका प्रमुखहरु सहभागी हुने तय भएको बताइएको छ । यस्तोमा प्रचण्डको सहभागीतालाई नै विशेष रुपमा अर्थ्याइएको छ । 

लोकसभामा निर्वाचित भएलगत्तै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भएको टेलिफोन सम्वादकै क्रममा मोदीले औपचारिक निमन्त्रणा दिएपछि प्रचण्डले भारत जाने कार्यक्रम तय गरेका हुन् । 

प्रचण्ड आइतबार दिल्ली जानेछन् भने सोमबार फर्किनेछन् । दुई दिन भारतमा रहने प्रधानन्त्री प्रचण्डले मोदीसँग संक्षिप्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको समेत बताइएको  छ । 

प्रधानमन्त्री प्रचण्डको भ्रमणमा स्ककीय सचिव समेत रहेकी प्रचण्डकी छोरी गंगा, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, लगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि भारत जाने कार्यक्रम छ ।

प्रचण्ड–मोदी भेटको महत्व

दुई देशबीच भइरहेको सीमा विवाददेखि सय रुपैयाँको नोटमा लिम्पियाधुरासहितको नयाँ नक्सा राख्ने विषयमा विमति जनाइरहेको भारतीय पक्षले पछिल्लो समय नेपालमाथि दबाब सिर्जना गर्ने कामलाई तीब्र पारिरहेको थियो । 

यस्तै कारण हुनसक्छ, एमाले अध्यक्ष केपी ओलीले निरन्तर भारतप्रति आक्रमण गरिरहन्छन् । 

नेपालको सरकार गठन विगठनमा भारतले सक्रिय भूमिका खेल्न खोजेको आरोप पनि ओलीले लगाइरहन्छन् । यस्तोमा प्रचण्डको भारत भ्रमणले दुई देशबीचको उतारचढावपूर्ण सम्बन्धमा नयाँपन आउन सक्ने आंकलन गरिएको छ । 

प्रचण्डले भारतीय समकक्षी मोदीसँग गर्ने भनिएको संक्षिप्त भेटवार्ताको क्रममा नेपालकोतर्फबाट राख्ने विषयले पनि अर्थ राख्ने हुनाले प्रचण्डको यो भ्रमणलाई कुटनीतिक रुपमा महत्वको ठानिएको छ । 

प्रधानमन्त्री प्रचण्ड सानो आकारको भ्रमण टोली लिएर भारत जाँदै गर्दा परराष्ट्रमन्त्रीको साटो कानूनमन्त्री लिएर जान लागेकाले पनि नेपाल–भारत सम्बन्धमा दुई कम्युनिष्ट पार्टी नै सकारात्मक छन् भन्ने सन्देश दिनु रहेको कतिपयले विश्लेषण गरेका छन् । 

कानूनमन्त्रीमा एमालेका पदम गिरी रहेकाले पनि यो भ्रमण अर्थपूर्ण रहेको बताइएको छ । 

मोदीको सपथमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, अफ्रिकी मुलुक सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि शपथ समारोहमा सहभागी हुने भएका छन् ।

 यि सबै सहभागीमध्ये प्रचण्डको कूटनीतिक चातुर्यता नेपालका लागि तत्कालीन आवश्यकताको विषय बनेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update