News 24 Television
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । 

सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्।  प्रधानमन्त्री दाहाल आज साँझ  स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update