News 24 Television
‘नाँगो भइसक्दा पनि कपडा लगाएको भ्रममा गृहमन्त्री’, ओलीमाथि खनिए गगन

काठमाडौँ । नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि घोचपेच गर्न छाडेको छैन । रविलाई सरकार छाड्न बाध्य पार्ने काँग्रेस रणनीतिअनुसार संसदीय छानबिन समिति बनेपछि पनि काँग्रेस साँसदहरुले घोचपेच भने जारी नै राखेका छन् । काँग्रेस सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले आफूमाथि छानबिन समिति नै बनेपछि नैतिकताको बोध गरी सरकार छाड्नुपर्ने बताएका हुन् । 

शनिवार एक कार्यक्रममा बोल्दै सांसद पौडेलले रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेले नैतिकता बोध नै नगरेको बताए । नैतिकताको बोध नै नगरिने राजनीतिको काँग्रेसले अन्त्य गरेरै छोड्ने उनको दाबी थियो । सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु भनेको ‘नाँगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको भ्रममा पर्नुु’जस्तै रहेको पौडेलको टिप्पणी छ । उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे । 

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समितिको माग राखी संसद अवरोधमा उत्रिएको काँग्रेसले उनलाई सरकारबाट झार्न सकेमा रास्वपाले पनि सरकार छाड्ने र सरकार अल्पमतमा पर्ने  भएकाले कसरत बाँकी नै राखेको छ । गृहमन्त्री रविविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका काँग्रेसका महामन्त्री गगन थापा पनि वर्तमान सरकार ढाल्ने रणनीतिमै छन् । यद्यपि उनी बाहिर भने आफ्नो पार्टी सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने बताइरहेका छन् । शनिबार उनले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा नै रहने दाबी गर्दै सरकारको खेलमा नलाग्ने बताए ।

महामन्त्री थापाले काँग्रेसले चुनावमा गएअनुसारको प्रतिबद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिवद्धता बिर्सिंदा काँग्रेस प्रतिपक्षमा पुगेको बताए । उनले काँग्रेसले अब ०८४ सम्म सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात पनि नलम्ब्याउने बताए । प्रतिपक्षको भुमिका निर्वाह गर्दै गर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न भने काँग्रेसले नछोड्ने समेत उनको भनाइ छ । काँग्रेस संसदको ठूलो दल र संविधान निर्माणको नेतृत्व गरेको पार्टी भएकाले जिम्मेवार भए प्रमुख दलहरुसँग संवाद जारी राख्ने उनले बताए । 

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गर्नुभएको आरोप लगाउनु भयो । यस्तै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीको आलोचना गरेका छन् । रास्वपाकी शिक्षामन्त्री विरुद्ध ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले ओलीको आलोचना गरेका हुन् । महिला भएकै कारणले ओलीले स्त्रीद्वेषी अभिव्यक्ति दिएको थापाले बताए । ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको भन्दै उनले काँग्रेसले नै ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताए ।

यसैबीच, गृहमन्त्री लामिछाने समेत मुछिएको सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय समितिले प्रतिवदेनहरु उपलब्ध गराउन संबद्ध  सबै पक्षलाई आग्रह गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानविनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन संबद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update