काठमाडौँ । जनताको बहुदलीय जनवादलाई राजनीतिक सिद्धान्त मान्दै आएको एमाले र एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीभित्र यो विषय पेचिलो बहस छ । एमालेमा एकमतले जबज भने पनि एकीकृत समाजवादीभित्र भने समाजवादी विचारधारा निर्माण गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।
जनताको बहुदलीय जनवादलाई मदन भण्डारीले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्त भन्दै एमालेले अहिले पनि यही विचारधारालाई बोकिरहेको छ । एमालेको नेतृत्वमा रहिसकेका माधव नेपाल र झलनाथ खनालले पनि जबजलाई राजनीतिक सिद्धान्त मानेर लामो समय एमालेमै रहे । तर, पछिल्लो समय जबजको विषयमा नेकपा एकीकृत समाजवादीभित्र फरक ढंगले बहस गर्न थालेको छ । नेकपा एसका अध्यक्ष माधव नेपाल पनि जबजबाट समाजवादमा पुग्न सकिन्न भन्नेमा सहमत बन्न पुगेका छन् । तर, अहिलेपनि जबजप्रतिको माया र त्यसको पेरिफेरिमा एमाले अध्यक्ष केपी ओलीको बचाउ भने गरिरहेका छन् ।
माधव नेपालले पनि जबजबाट समाजवादी क्रान्ति सम्पन्न नहुने धारणा राखेपछि नेकपा एसभित्र जबजले मुलुकको राजनीति सहि दिशामा जाँदैन भन्ने विचारधारा राख्दै आएका झलनाथ खनालको भने नैतिक जित भएको जस्तो देखिन्छ । झलनाथ खनाल एक्लैले पहिलेदेखि नै जबजबाट समाजवादी क्रान्ति सम्पन्न नहुने भन्दै वैचारिक रुपमा फरक मत राख्दै आएका थिए । खनालले अहिले पनि जबजको राजनीतिक उद्देश्य समाप्त भइसकेको दाबी गरिरहेका छन् ।
माधवको यूटर्न
माधव नेपाल उनै नेता हुन् जो आजभन्दा चार महिना पहिले मात्रै पनि जबजको बहुदलीय जनवादको विकल्प नभएको दाबी गरिरहन्थे । एमालेले अंगिकार गरिरहेको जबजलाई राजनीतिको प्रमुख लाइन भन्दै त्यसको पक्षपोषण गरिरहेका माधव नेपाल जबजप्रति कट्टर पनि देखिन्थे ।
माधव नेपालले एमालेसँगको सहकार्यको ढोका खुला गर्नलाई पनि यस्तो बताएको धेरैले आशंका गर्ने गरेका थिए । ओली पनि जबजका कट्टर समर्थक देखिएकाले माधवले बोलीमा लोलि मिलाएको शंका गरिन्थ्यो । तर, पछिल्लो समय ओली माधवप्रति अनुदार पेश हुने गरेका मात्रै छैनन्, पार्टीलाई दक्षिणपन्थी शक्तिसामू लगेर बुझाएको गम्भीर आरोप लगाइरहेका छन् ।
ओलीले माधव नेपालमाथि गम्भीर आरोप लगाउने क्रम नरोकिएपछि माधव समाजवादी मोर्चा र समाजवादी कार्यक्रम तयार पार्नुपर्ने ठाउँमा आइपुगेको धेरैको आंकलन छ । हुनत, केहिदिन पहिले मात्रै पनि माधवले प्रचण्डको प्रशंसा गर्दै ओलीलाई धेरै मुर्मुरिन नहुने सुझाव नै दिएका थिए ।
समाजवादी मोर्चाको अभ्यास
साना कम्युनिष्ट पार्टीहरु समाजवादी मोर्चाको अभ्यासमा जुटेका छन् । कम्युनिष्ट भनेर मात्रै नहुने भन्दै उनीहरुले समाजवादी राजनीतिक विचारधारा निर्माण गर्ने र बृहत्तर एकता र कार्यगत एकताको अभ्यास गर्न खोजिरहेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीको विभाजनपछि केहि सेलाएको समाजवादी मोर्चा फेरि सक्रिय बन्ने संकेत देखा परिरहेको छ । यस्तोमा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा लगायत दलहरु फेरि कसिलो मोर्चाको तयारीमा छन् । यता, एमाले भने एक्लैले बहुमत ल्याउने भन्दै कस्सिएका कारण पनि झस्किएका शक्तिहरु अब राजनीतिक विचारधारामै नयाँपन दिने गरि अघि बढ्न खोजेको देखिन्छ ।
