News 24 Television
प्रचण्डको भारत भ्रमण कति उपलब्धिमूलक ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा सहभागी भएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन् । भारतमा रहँदा प्रचण्डले भारतका राष्ट्रपतिदेखि मोदीसहित मन्त्री र भारतीय व्यापारी समेतलाई भेटे । राजनीतिक, कूटनीतिक र आर्थिक पक्ष भ्रमणमा समेट्न खोजेका प्रचण्डको यो भ्रमण उपलब्धिपूर्ण बन्यो त ? 

भारतका लागि नेपाली राजदूत फिर्ता बोलाएकै बेला प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी भए । दिल्लीस्थित नेपाली दूतावासमा बसेका प्रचण्डले त्यहीबाट पत्रकारलाई प्रतिक्रिया दिने काम पनि गरे । तर, राजदूत फिर्ता बोलाएको विषयले विवादीत बनिरहेको माहोलमा प्रचण्डको भ्रमण कस्तो रह्यो भन्ने विषयमा चर्चा बढेको छ । मोदीको सपथ समारोहमा सहभागी हुँदै गर्दा प्रधानमन्त्री प्रचण्डलाई भारतकै रजनीकान्तसँग समेत जोडेर चर्चा गरियो । सपथ समारोहमा सहभागिता जनाउनेक्रममा छोरी गंगा दाहालसहित हिडिरहेका प्रचण्डलाई भारतीय चर्चित कलाकार रजनीकान्तसँग तुलना गर्नेदेखि अन्य पक्ष पनि विशेष बनाउन खोजिएको थियो । 

यस्तै, प्रचण्डले दिल्लीमा समकक्षी मोदीसँग भेटवार्ता गरे भने मोदी र प्रचण्डको छलफलको क्रममा छोरी गंगा पनि सहभागी देखिइन् । मोदी र प्रचण्डबीच दुई देशको सम्बन्धलाई थप उचाईमा पु¥याउने गरि काम गर्ने विषयमा छलफल भएको बताइएको छ भने तिक्ततापूर्ण सम्बन्धमा नयाँ आयाम थपिने विश्वास समेत गरिएको छ । 

के भन्छन् प्रधानमन्त्री प्रचण्ड ?

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् । मोदीले जी २० को बैठकपछि नेपाल भ्रमण गर्नसक्ने वचन दिएको र मोदीले पहिले पनि नेपाल भ्रमण गर्न चाहेको कुरा खुलाएको प्रचण्डले दाबी गरेका छन् । आफ्नो भारत भ्रमणको अवसरमा मोदीसँग पुराना सम्झौता कार्यान्वयनमा जोड दिइएको दाबी प्रधानमन्त्री प्रचण्डको छ भने मोदी सकारात्मक रहेको समेत बताइएको छ । 

को–कोसँग भयो भेट ?

प्रधानमन्त्री प्रचण्डले साइडलाइनमा अन्य देशका शीर्ष नेताहरुसँग भेट गरेपनि औपचारिक रुपमा भने भारतीय राष्ट्रपति मुर्मु द्रोैपति, संघीय मन्त्री एस जयशंकर लगायत शीर्ष नेता र अधिकारीसँग भेटवार्ता गरेका छन् । भने भारतीय लगानीकर्तासँग समेत उनको भेट भएको र नेपालमा ढुक्कले लगानी गर्न अपिल गरेको बताइएको छ । सपथ समारोहमा भएको भ्रमण भएकाले कूटनीतिक रुपले यसको अर्थ रहने भएपनि सम्झौताको विषय भने जोड्न मिल्दैन । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update