काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेपाल सजामवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको तिक्तता गण्डकीबाट थप पेचिलो बनेको छ ।
प्रचण्डले बाबुरामलाई एक्ल्याउने गरि निर्णय गर्ने क्रम गण्डकीमा चल्न नसकेपछि नेताहरु फेरि आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाड्दै गोरखा पु¥याएका नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले भावी प्रधानमन्त्री भन्दै खुशी साट्ने गर्थे ।
छोरी मानुषीलाई काठमाडौंबाट निर्वाचनमा उठाएका बाबुरामले गोरखाबाट प्रचण्डलाई जिताउन ठूलो भूमिका नै निर्वाह गरे । तर, उनीहरुको त्यो हार्दिकता लामो समय भने चल्न सकेन् ।
समाजवाीमोर्चा घोषणासम्म आइपुग्दा दुई नेताहरु विवादको उत्कर्षमा पुगिसकेका थिए । उनीहरु अब मिल्न सकिन्न है भन्ने अवस्थामा पुगेपछि नेसपामा अर्का अध्यक्ष महिन्द्र राय यादवलाई एकताका लागि पत्राचार गर्नेदेखि अनेक विषय चले । यादव पक्षले माओवादीसँग एकता गर्ने निर्णय गरिसक्दा बाबुराम भने धोका दिएको भन्दै छुट्टिन पुगे ।
प्रचण्डले आफ्नो पार्टी फुटाइदिएको भन्दै आक्रोश पोखेका बाबुरामले महिन्द्र राय यादव लगायतका नेताहरु माओवादीमा जाने निर्णयलाई खास वास्ता नगरेको दाबी गरेपनि गण्डकीमा एकल चुनाव चिन्हबाट निर्वाचित भएका फणीन्द्र देवकोटाले फ्लोर क्रस गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि स्थिति अर्को ठाउँमा पुगेको छ ।
प्रधानमन्त्री प्रचण्ड आफैले पनि फ्लोरक्रस गर्नेमाथि कारबाही हुने चेतावनी दिसकेका छन् । प्रचण्डले कारबाही गर्ने चेतावनी दिएपछि नेसपाले विज्ञप्ति जारी गर्दै कारबाही गर्न सक्ने स्थिति नरहेको दाबी गरेको छ । माओवादी केन्द्रले नेसपा सांसदलाई कारबाही गर्न नमिल्ने तर्क नेसपाको छ ।
नेसपा छुट्टै दल भएको र एकल निर्वाचन चिन्हबाट निर्वाचित भएपनि निर्वाचन आयोगले नेसपाको सांसद भनेर मान्यता दिएको नेसपाको दाबी छ । तर, कानूनतः एकल निर्वाचन चिन्हबाट निर्वाचित सांसदमा धेरै संख्या जित्ने दलको नेतृत्वमा संसदीय दल बन्ने र दलभित्र रहेका सबै सांसदलाई ह्वीप लाग्ने व्यवस्था छ । यस्तो अवस्थमा माओवादी केन्द्रले चाहेमा कारबाही गर्न सक्ने बाटो भने खुला छ ।
फ्लोर क्रसपछि मन्त्री उपहार
गण्डकी प्रदेसमा फ्लोरक्रस गरेपछि नेसपा सांसद फणीन्द्र देवकोटाले मन्त्री पद उपहार पाएका छन् । जोखिम मोल्दै विश्वासको मत दिएका देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऊर्जान्त्रीको जिम्मेवारी दिएका छन् ।
देवकोटाले पनि पार्टी निर्देशन मानेको दाबी गरिरहेको बेला उनलाई दिईएको मन्त्री पद उपहार कतिदिन सम्म टिक्ने हो भन्ने माओवादी केन्द्रले चाल्ने कदमले धेरै कुरा खुल्ने अपेक्षा गरिएको छ ।
प्रचण्ड–बाबुराम विवाद
प्रचण्ड बाबुरामलाई धेरैले झेल्न नसक्ने नेताको रुपमा व्याख्या गर्छन भने बाबुराम प्रचण्डलाई अस्थिर चरित्रको नेता भन्ने गरेका छन् । १० वर्षे जनयुद्धमा सहभागी भएका दुई नेताहरुबीच कुनैबेला बराबरको जस्तो सम्बन्ध रहेपनि प्रचण्डले आफूअनुकुलका निर्णय भने जहिले पनि गराउन सफल रहे ।
तर, नेसपासम्म आइपुग्दा एकहोरो प्रचण्डले बाबुरालाई पेलेपछि गण्डकीमा बाबुरामले आफ्नो बल प्रयोग गरेका छन् । यसले दुई नेताहरुको सम्बन्ध थप चिसिने त होइन भन्ने शंका थप बलियो बनेको छ ।
