News 24 Television
तेस्रो तहका नेतालाई थन्क्याउने ठाउँ बने प्रदेशहरू : गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । 

बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश तेस्रो तहका नेताहरुलाई थन्क्याउने ठाउँ बनेको बताएका हुन् । 

व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताउँदै गृहमन्त्रीले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको उनको भनाइ छ ।

‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन्,’ उनले भने, ‘प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ । त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए  । उनले मिलेर जाऊँ भन्ने चक्करमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिटभन्दा बढी जित्ने दाबी समेत गरे । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update