News 24 Television
बाबुरामसँग रवि र रेशम ! के बन्दैछ योजना ?

काठमाडौं । पार्टीमा सबैले छाडेर जाने र सचिवालयमा लामो समय रहेका नेताहरु नै नरहने भएपछि राजनीतिक रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहसजतामा छन् । 

समाजवादी बाटोबाट मुलुकको अग्रगमनको सपना देखेका बाबुराम एक्लिए पनि उनी नयाँ–नयाँ प्रयोग गर्ने प्रयास भने गर्छन् । पार्टी स्थापना दिवसको अवसरमा बाबुरामले पुराना दललाई बाइकट गर्दै फेरि नयाँ प्रयोगको झल्को दिएका छन् । 

नेपाल समाजवादी पार्टी स्थापना दिवसलाई भव्य मनाउने भन्दै आयोजित कार्यक्रममा अध्यक्ष डा. बाबुराम भट्टराईसँग पुराना धेरै नेताहरु देखिएनन् । 

पार्टी छाडेर कोहि कता त कोहि कता पुगिसकेका छन् । पत्नी हिसिला यमि र छोरी मानुषीसहित केहि नेताहरुसँग नेसपा सञ्चालनको प्रयास गरिरहेका बाबुरामले पार्टी स्थापना दिवसमा नयाँ प्रयोगको संकेत भने गरेका छन् । 

पार्टी स्थापना दिवस मनाउने क्रममा बाबुरामले पुराना दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका धेरै दललाई कार्यक्रममा निम्तो दिएनन् । तर, उनले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायतलाई निम्तो दिए । 

यसमा पनि रोचक विषय त के भने नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी सहभागी भएका छन् । रेशम र रञ्जिताबीच विवाद चलिरहेको बेला रञ्जिताले प्रधानमन्त्री प्रचण्डको पक्ष लिएकाले पनि हुनुपर्छ, रेशम बाबुरामको नजरमा परेका छन् । 

कार्यक्रममा रेशमले सम्बोधनको क्रममा टिकापुर घटनाका दोषी सार्वजनिक गर्नुपर्ने बेला आएको दाबी गरिदिए । नाउपा जस्तै कार्यक्रममा सहभागी दल जनमत पार्टीका अध्यक्ष सीके राउतले भने मुलुकमा अब कार्यकारी प्रधानमन्त्रीको आवश्यकता औल्याएका छन् । 

सीकेले यस्तो जिकिर लिदै गर्दा रास्वपा सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनाबारे बखान गरे । 

अनेकताको भेला जस्तो देखिने गरि चलेको कार्यक्रममा बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल देखेको भन्दै सार्वजनिक गुनासो पोखे । 

यस कार्यक्रममा नेताहरुले आ–आफ्ना तर्क राखेपनि केन्द्रमा आफैलाई राखेर भाषण गरेका देखिन्थे । उनीहरुमा आक्रोश र राज्य संरचनाप्रति नै गम्भीर गुनासोे देखिन्छ ।

बाबुरामले दिएको संकेत

विभिन्न दलका नेताहरुले थुप्रै तर्क गर्ने स्थानको रुपमा नेसपाको स्थापना दिवसलाई सदुपयोग गरेपनि बाबुरामले भने नयाँ दल र नेताहरु मिलेर जानुपर्छ भन्ने सन्देश दिन पनि पुराना दललाई अस्वीकार गरेको देखिन्छ । 

गण्डकीमा कांग्रेसलाई सघाएर वामपन्थी रुझानलाई दबाबमा पार्न खोजेका बाबुरामले नयाँ दलहरुसँगको मञ्च सेयरलाई छुट्टै ढंगले हेर्नुपर्ने स्थिति बनेको छ । तर, सचिवालयमा लामो समय बसेकाहरु नै टिक्न नसकेको नेसपा र बाबुरामको पार्टीमा नयाँ दलहरुको समायोजन सम्भव होला ? प्रश्न भने जटिल  छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update