काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली काँग्रेसले ‘स्यालहुइँया’ मच्चाएको आरोप लगाएका छन् ।
बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले देशका लागि काम गर्न लागिपरेको बताए । तर काम गर्न नदिनका लागि काँग्रेसले एमालेमाथि आक्रमण गरिरहेको उनले आरोप लगाए ।
अध्यक्ष ओलीले राम्रा काम गर्न नदिन काँग्रेसले अनर्गल प्रचार प्रसार गरिरहेको बताए । उनले पशुपतिमा १०८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे । उनले अहिले गिरिबन्धु टि–स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुइँया मच्चाइरहेको बताए ।
कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि–स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको समेत ओलीको अरोप छ । उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताए ।
आफूहरुले देशको निर्णय गर्ने ठाउँमा, निर्णायक ढंगले राष्ट्रको स्वाधिनता, स्वाभिमान, भौगोलिक अखण्डता, हाम्रो स्वतन्त्रता, हाम्रा राष्ट्रिय हितहरु, त्यसको रक्षा गर्नसक्ने गरी, देशमा सुशासन गर्नसक्ने गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनसक्ने गरी भिजिनरी, देशभक्त जनपक्षिय, जनताको शक्तिलाई राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न चाहेको तर काँग्रेसले बाधा हालिरहेको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको पनि बताए । उनले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याएर देशको विकास गर्नका लागि रहेको दाबी गरे ।
