News 24 Television
एमालेले देशमा राम्रो काम गर्दा कांग्रेस आत्तियो : ओली

काठमाडौं । देश विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । एमालेले देशका लागि राम्रो काम गरिरहेकै कारण असह्य भएर कांग्रेसले पटक–पटक आक्रमण गर्ने गरेको ओलीको तर्क छ । 

गिरीबन्धु प्रकरणमा ओलीले हिनामिना गरेको आरोप लगाएपछि उनी कांग्रेसविरुद्ध आक्रमक बनेका हुन् । आफुमाथि हुने गरेका आलोचना र लाग्ने आरोपहरु एमाले अध्यक्ष केपी शर्मा ओली सहनै सक्दैनन् । त्यसैले उनी आक्रमकरुपमा त्यसको प्रतिवादमा उत्रने गर्छन् । 

बिहिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओली कांग्रेसविरुद्ध निकै आक्रोशित र आक्रामक सुनिए । खासगरी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकअर्कामा सफ्टकर्नर राख्ने नेता मानिन्थे । यी दुई नेताका विगतका गतिविधि हेर्दा पनि त्यस्तै लाग्थ्यो । 

तर सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अप्ठ्यारोमा पारेर सरकारबाट बाहिरिन बाध्य बनाउने अनि नयाँ सत्ता समिकरण बनाउने कांग्रेसको प्रयासमा ओली बाधक मात्रै बनेनन्, गृहमन्त्री लामिछानेको बचाउँमा खरो उत्रिए । 

त्यसपछि भने कांग्रेस ओलीसँग नराम्रोसँग बिच्कियो र ओलीलाई काउन्टर दिन गिरिबन्धु प्रकरणमा केन्द्रीत भएको छ । गिरीबन्धु टि स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाउँदै आएको छ । यो विषयलाई कांग्रेसले संसदमा समेत प्रवेश गराइसकेको छ । यो प्रकरणमा तत्कालिन ओली नेत्तृत्वको सरकारको संलग्नता रहेको अदालतले पनि प्रमाणित गरिसकेको भन्दै कारबाही हुनु पर्ने माग कांग्रेसको छ ।

गिरीबन्धुमा कांग्रेसले आधारहिन आरोप लगाएको भन्दै एमालेका उच्चतहका नेताहरु नै प्रतिवादमा उत्रिने गरेका छन् । कांग्रेस नेताहरुको निरन्तरको प्रतिवादले ठूलो रुप लिन सक्ने देखिएपछि हच्किएका ओली आफै पनि प्रतिवादमा उत्रिने गरेका छन् । 

त्यसैक्रममा कांग्रेस लगाएको आरोपलाई अन्यत्रै मोड्न ओलीले यो विषयलाई देश विकाससँग लगेर जोडेका छन् । देशमा विकास हुन लाग्यो भनेर कांग्रेस आत्तिएको र स्यालहुँइया मच्चाएको ओलीको आरोप छ । 

एमालेलाई देशका लागि राम्रो काम गर्न नदिन पनि कांग्रेसले लगातार आक्रमण गरिरहेको ओलीको जिकिर छ । ओली सरकारमा छँदै पशुपतिनाथ मन्दिरमा १ सय ८ केजी सुनमा  पित्तल मिसाएको काण्डलाई पनि उनले कांग्रेसले अफवाह फैलाएको भन्दै प्रतिवाद गरेका छन् ।

त्यस्तै कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी गरेको आरोप पनि आफ्नो र एमालेको प्रतिष्ठा गिराउनका लागि मात्रै चलाइएको हल्ला भएको उनले दाबी गरेका छन् । कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको ओलीको आरोप छ । 

अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको उल्लेख गरे । उनले मिसन ८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याएर देशको विकास गर्नका लागि रहेको पनि बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update