News 24 Television
 शक्ति प्यालामा लठ्ठ उपेन्द्र !

काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा उपेन्द्र यादव एकलौटी हर्ताकर्ता बनेका छन् । पार्टी महाधिवेशन हलमा जसपा नेपालका नेताहरु उभिएपनि आफ्नो विवेकको प्रयोग गर्ने गरि महाधिवेशन सकिदिए । 

पार्टी विभाजनदेखि नेताहरु छाडेर अन्यत्र जानेदेखि शक्ति क्षयीकरण हुँदा समेत नचेतेका उपेन्द्रले गर्न खोजेको यस्तो प्रयोगले जसपा तङ्ग्रिएला त ? 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ वर्षपछि महाधिवेशन आह्वान गरे । तर, अध्यक्षमा आफु सर्वसम्मत बनेसँगै निर्वाचनका अन्य कार्यक्रम नै स्थगित गराए । 

महाधिवेशन हलमा विभिन्न पदमा उम्मेदवारले मत माग्ने काम गरेपनि उपेन्द्रले ती सबै कार्यक्रम स्थगित गराएर आफूले निर्णय गर्ने गरि महाधिवेशनलाई समापन गरिदिए । अध्यक्षबाहेक कुनैपनि पदाधिकारी र केन्द्रिय समितिको चयन नै नगरि महाधिवेशन हललाई स्तब्ध बनाएका उपेन्द्रविरुद्ध आवाज उठाउन सक्ने नेताहरु नदेखिएपनि भर्खरै भएको पार्टी विभाजन र शक्ति क्षयीकरणको मारमा परिरहेका उपेन्द्रले चालेको यस्तो कदमले जसपालाई थप सशक्त बनाउन सहयोग पुग्ला त ? यो आम चासो छ ।

हुकुमी शासनमा उपेन्द्र

आफूलाई समाजवादी विचारधाराको समुन्नत पार्टी भन्ने उपेन्द्रले पार्टीको सर्वोच्च निकाय महाधिवेशनलाई नै प्रभावमा पार्न सफल भएका छन् । उपेन्द्रलाई चुनौति दिन सक्ने नेताहरु अलग बनेपछि हाइसुख्ख बनेका उपेन्द्रले निर्धारित समयमा आफू सर्वसम्मतिले अध्यक्ष चयन हुनेबाहेकका निर्णय गरेनन् । महाधिवेशन हलदेखि सार्वजनिक रुपमै विभिन्न पदका उम्मेदवारहरुले मत माग्न थालिसकेका थिए ।

 निर्वाचन प्रक्रिया शुरु हुने अपेक्षामा बसेका महाधिवेशन प्रतिनिधिहरु उपेन्द्रले एकताको सन्देश दिन चुनाव नगर्ने निर्णय सुनाएसँगै मुखामुख गर्दै फर्किए । राजाले शासन सत्ता हातमा लिएको बेला प्रधानमन्त्रीदेखि विभिन्न पदमा मान्छे नियुक्त गरेझैं अब उपेन्द्रले पनि आफ्ना निकटका मानिसलाई विभिन्न स्थानमा पदस्थापन गर्नेछन् । 

शक्तिशाली बन्ने चक्करमा रहेका उपेन्द्रले चालेको यो कदमले उनी जसपा नेपाललाई सफलतातर्फ लैजान सक्षम बन्लान् ? शंका थप बलियो बनिरहेको छ । हुकुमी शैलीबाट पार्टी चलाउने सुर कसेका उपेन्द्रलाई अब पार्टीलाई थप सशक्त बनाउने चुनौति गम्भीर बनेको देखिन्छ । 

अलग भएकाको आरोप र तर्क

उपेन्द्र यादवले पार्टी कब्जा गर्न अनेक षडयन्त्र गर्न थालेपछि पार्टी अलग बनाउनु परेको आरोप अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीको छ । उनीहरुले उपेन्द्रले महाधिवेशनमा आफू बलियो बन्न महाधिवेशन प्रतिनिधि छनोटदेखि विभिन्न काममा एकलौटी गर्न खोेजेकोदेखि शक्तिशाली बन्न अनेक प्रपञ्च रचेको आरोप लगाएका थिए । 

उनीहरुको आरोपलाई उपेन्द्रले खण्डन गरेपनि अन्तत महाधिवेशन हलसम्म पुग्दा स्थिति त्यसतर्फ नै केन्द्रित देखियो । पार्टीबाट अलग हुने अशोक राईसहितका नेताहरुले लगाएको आरोपलाई मलजल गर्ने गरि उपेन्द्रले चालेको कदमले उनी सर्वेसर्वा त बनेका छन् तर, शक्ति क्षयीकरणलाई रोक्ने उपाय अपनाउन सक्लान् भन्ने आधार कमजोर छन् । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update