काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक बाटो नै अलमलमा देखिन्छ । सरकारमा सहभागी भएपनि रास्वपाले आफ्नो भूमिका र सरकारबाट जनतालाई सेवा प्रवाहमा गर्न सकिने विषय भन्दा पनि निराशा छर्नेदेखि जोखिम मोल्न नहुनेसम्मका विषय सार्वजनिक गरिरहेको छ । तर, रास्वपाभित्र नेताहरुका मत पनि फरक फरक रहेका देखिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना र पार्टी स्थापना अघि सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पाएको दुख र भोगेका विषय रोचक छन् । रविले अन्य पार्टीमा मिलेर जान धेरै नेतालाई अनुरोध गरेपनि कसैले नपत्याएको कुरा सार्वजनिक रुपमै भनिसकेका छन् ।
कुनै पार्टीसँग कुरा नमिले पछि रविले आफै पार्टी स्थापना गरे र राम्रो सफलता पाएपनि । तर, अहिले रास्वपाको यो सफलताले स्थिरता पाउला भन्नेमा शंका छ ।
यहि शंका र डरकाबीच पार्टी स्थापना दिवसमा बोल्दै गर्दा नेताहरुले आशा र राजनीतिबाट गर्न सकिने कुराभन्दा पनि अलमल र अस्पष्टता पेश गरे । खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका रास्वपा नेता विराजभक्त श्रेष्ठ अत्तालिएका देखिन्छन् ।
राजीनामा खल्तिमा बोकेर हिडिरहेको भन्दै सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बेला नै बताएका छन् उनले । विराजभक्तले सरकारमा किन गएको भन्ने विषयलाई स्थापित गर्नुको सट्टा समर्थन फिर्ता लिनुपर्ने विषय सार्वजनिक खपतको विषय बनाउनाले पनि उनी हतास र अत्तालिने अवस्थामा पुगेकोमा शंका छैन् ।
विराजभक्तले छर्न खोजेको निराशामा उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डा. स्वर्णि वाग्लेले भने पार्टी निर्माणको विषयमा केहि कुरा राखे । तनहुँ र इलाम उपचुनावबाट पार्टीमा संगठन चाहिने रहेछ भन्ने अनुभुति गहिरो ढंगले भएको बताएका उनले मास बेस्ड पार्टी भनेपनि काठमाडौ जस्ता शहरमाबाहेक ग्रामिण भेगमा यसले काम नगर्ने भन्दै कार्यकर्ता र संगठन चाहिनेमा जोड दिए ।
निराशा र पार्टी निर्माणमा देखिएका छरपष्ट विचारलाई संश्लेषण गर्दै रास्वपाबारे प्रष्ट धारणा राख्दै आम नेता तथा शुभचिन्तकलाई आश्वस्त पार्नुपर्ने जिम्मेवारीमा रहेका पार्टी सभापति रवि लामिछानेले भने सरकारमा रहेको विषयलाई अहिले नराम्रो नगरे पुग्ने बताए । राम्रो गर्न नसके नराम्रो नगर्ने भन्दै भाषण दिएका रविले अन्य नेता पंक्तिलाई विश्वासमा लिन सक्ने स्थिति भने बन्ने देखिन्न ।
हतासिएका विराजभक्त र बाटो खोजिरहेका स्वर्णिम
रास्वपा संसदीय दलको उपनेता समेत रहेका विराजभक्त खेलकुद मन्त्रीको रुपमा छन् । सरकारमा सहभागि भएको सय दिन कटाएको भोलिपल्ट रास्वपाले पार्टी स्थापना दिवस मनाउदै गर्दा विराजभक्त अत्तालिएका देखिए । रास्वपा सरकारमा किन गयो र अब किन सरकारबाट फिर्ता हुने भन्ने विषयलाई प्रष्ट पार्न नसक्दै विराजभक्तले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बेला आएको बताएका छन् ।
अन्यलाई पुराना पार्टी भन्दै आफूलाई नयाँ दाबी गरेका विराजभक्त यसअघि त्यहि पुरानो पार्टी एमालेबाट बागमति प्रदेश सदस्य बनिसकेका पात्र हुन् । तर, रास्वपाबाट प्रतिनिधिसभा सदस्य बनेका उनी सरकारबाट बाहिरिनुपर्ने धारणा राख्ने ठाउँमा किन आइपुगे ? त्यो विषय पार्टी वा संसदीय दलमा छलफलको विषय किन बनेन ? तमाम प्रश्नहरु उब्जिएका छन् ।
विराजभक्तले हतास मानसिकता देखाएपनि कांग्रेसमा लामो समय राजनीति गरेका उपसभापति स्वर्णिम वाग्ले भने पार्टी निर्माणमा ध्यान दिनुपर्ने बेला आएको बताइरहेका छन् । पार्टीलाई मास बेस्ड भन्दै जाँदा समस्या आइपर्ने र कार्यकर्ता र संगठन निर्माणमा जोड दिनैपर्नेमा उनको ध्यान देखिन्छ ।
कांग्रेसमा लामो सदस्य र कार्यकर्ताको भीड देखेका स्वर्णिम कार्यकर्ता बनाउन चाहन्छन् । तर, रास्वपाले उनले भनेको विषय सहजै मान्ला ? यो पनि चासोको विषय हो ।
