काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्ड गम्भीर संकटमा फस्दै गएको दाबी गरेका छन् । सरकारको नेतृत्वमा प्रचण्ड किन छन् भन्ने विषय उनी आफैलाई थाहा नभएको दाबी गरेका गगनले उपप्रधान एवम् गृहमन्त्रीमाथि समेत रोष पोखेका छन् ।
पछिल्ला दिनहरुमा थप आक्रामक पेश हुने गरेका गगनले दिन खोजेको राजनीतिक सन्देशको अर्थ के हो त ? कांग्रेस सत्ताबाट बाहिरिएपछि गगन थापाको सक्रियता थप बढेको छ ।
पार्टी सत्तामा आफ्नो ध्यान केन्द्रित बनाएका गगन थापाले सरकारमा जान कांग्रेसलाई असहज परिस्थिति सिर्जना भएको विषयले खास पोलेको छैन् । तर, उनी सरकारमाथि अनेक टिप्पणी गरेर जनतामा आफूलाई स्थापित गराउने मामलामा अघि बढेका छन् ।
प्रचण्डलाई निशाना बनाएका गगनले आफू प्रधानमन्त्री किन बनेको भन्ने विषय प्रचण्डलाई नै थाहा नभएको भन्दै आलोचना गरे । गगनले प्रधानमन्त्री प्रचण्डलाई यतिमात्रै आरोप भने लगाएका छैनन् । उनले एमालेले पनि सरकारको जिम्मा लिने मनस्थिति नबनाएको भन्दै सरकारमाथि दबाब सिर्जना गर्न खोजेका छन् ।
प्रधानमन्त्रीलाई अनेक लान्छना लगाइरहेका गगनले सरकारको स्थिरतामा प्रश्न उठाइरहेपनि सांकेतिक रुपमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि समेत घोचपेच गरेका छन् ।
उपप्रधानमन्त्री भएको छ, मन्त्री भएको छ तर चटक गर्ने भन्दै प्रश्न गरेका गगनले मानिसको भावनासँग खेल्ने काम भइरहेको आरोप समेत लगाए । भने, सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको आरोप लगाए ।
गगनको क्रोध किन ?
गगन थापा र रवि लामिछानेबीच केहि समयदेखि वाक युद्ध नै चलिरहेको छ । उनीहरु एकले अर्कोलाई आरोप लगाउने काम गरिरहेका छन् । सहकारी प्रकरणमा गगनले रविमाथि प्रश्नमाथि प्रश्न गरेपछि रवि लामिछानेकी पत्नीले सञ्चालन गरेको एक टेलिभिजनबाट गगनबारे अनेक भिडियो सामाग्री संप्रेषण भइरहेका छन् ।
गगनले घुस मागेको आरोपदेखि अनेक आरोप लगाइएका भिडियो सामाग्री उत्पादनमा रास्वपा केन्द्रीय सदस्य समेत रहेकी विवादी पात्र ज्वाला संग्रौला सहभागी छिन् । यसले पनि गगनमा क्रोध थप बढेको देखिन्छ ।
गगनले सामाजिक सञ्जालको दुरुपयोग भएको, मानिसको भावनामाथि खेल्न खोजेको लगायतका आरोप यहि सन्दर्भमा लगाएको प्रष्ट छ । तर, दुई नेताहरुबीच लामो समयदेखिको भातृत्वको सम्बन्ध तिक्ततामा परिणत भएपनि उनीहरुले अबको बाटो कस्तो तय गर्लान् भन्ने चासो समेत उत्तिकै बढेको छ ।
