काठमाडौँ । सरकारमा सहभागिताबारे समीक्षा गर्ने बेला भयो भन्दै सार्वजनिक अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा खेलकुद मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काएका छन् । पछिल्ला दिनहरुमा सत्तामा पुनः फेरबदलको हल्ला छ । यस्तै हल्लाका बीच रास्वपा नेताले सरकार छोड्नसक्ने भन्दै अभिव्यक्ति दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले रास्वपाले पहिचानका लागि यस्तो गरेको हुनसक्ने भन्दै कडा शब्दमा जवाफ फर्काएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे समिक्षा गर्नुपर्ने बेला आएको भन्दै राजीनामा पत्र खल्तिमा राखेको दाबी गरेका थिए । बजेटदेखि अन्य विषयको विवादकाबीच रास्वपा सरकारमा रही रहला भन्ने प्रश्नकाबीच श्रेष्ठको अभिव्यक्तिलाई लिएर अनेक अड्कलबाजी चलिरहेको छ ।
श्रेष्ठले यस्तो चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काएका छन् । चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीले राजीनामा पत्र खल्तिमा बोकेर हिडेको भनिरहेका छन्, सत्ता समिकरण लामो समय जाँदैन कि क्या हो भन्ने जिज्ञासामा राजीनामा खल्तिमा राख्ने भन्ने विषय रास्वपाको पहिचान अर्थात सस्तो लोकप्रियताको भाषण बनेको दाबी गरे । रास्वपा सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग कुराकानी भएको सन्दर्भ कोट्याएका प्रधानमन्त्रीले सरकार परिवर्तनको आशंकामा सत्यता नभएको जिकिर गरे ।
के राजीनामा खल्तिमै छ त ?
रास्वपा संसदीय दलका उपनेता समेत रहेका विराजभक्त श्रेष्ठले राजीनामा खल्तिमै रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि सत्ता समिकरणमा यो अभिव्यक्ति छलफलको विषय बनेको बताइएको छ । रास्वपा सभापति समेत रहेका गृहमन्तरी रवि लामिछानेले त्यसमा खास सत्यता नभएको र सरकारको गतिलाई थप बढाउनुपर्छ भन्ने अर्थमा बुझ्न अपिल गरेको बताइएको छ । खेलकुद मन्त्रीको अभिव्यक्ति व्यक्तिगत पनि होला भन्ने आशयको कुरा सुनेपछि प्रधानमन्त्री प्रचण्डले खास प्रतिक्रिया नदिएको बताइन्छ । तर, रास्वपाले प्रायः राजीनामा खल्तिमा छ भन्दै चेतावनी दिने गर्ने गरेकाले पनि सत्ता समिकरणका शीर्ष नेताहरुले यसलाई गम्भिर रुपमा नलिएको बताइन्छ ।
रास्वपाको सांकेतिक अर्थ के ?
रास्वपाका नेताहरुले भनेको विषयमा शंका भने छ । संसदीय दलको उपनेता समेत रहेका मन्त्री श्रेष्ठले सहकारी प्रकरण र नागरिकतादेखि राहदानी प्रकरणको विषयलाई लिएर आक्रोश पोखेको कतिपयको आशंका छ । अदालतले सक्रियता देखाउने र सभापतिविरुद्ध केहि हुने स्थिति देखिएमा सत्ताबाहिर निस्किने बाटोका लागि पनि यस्ता विषय सार्वजनिक गरिरहेको विश्लेषण राजनीतिज्ञहरुको छ ।
प्रहरीले जाहेरी परेको विषयलाई तोडमोड गरिसकेको भन्दै विभिन्न तथ्य बाहिरिने गरेको सन्दर्भमा अदालतले सक्रियता देखाउने पो होकी भन्ने डरले रास्वपाका नेताहरु राजीनामा खल्तिमा छ भन्दै सत्तासँग बार्गेनिङ गर्ने गरेको दाबी समेत पाइन्छ । यद्यपि यसको स्वतन्त्र पुष्टी भने हुन सकेको छैन् ।
