News 24 Television
राष्ट्रपति पौडेल स्वदेश फिर्ता, विमानस्थलमा मन्त्रिमण्डलको लाम

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्किएका छन् ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे । तर उनकाे स्वागतमा सिंगै मन्त्रिमण्डल समेत विमानस्थल पुगेर लाम लाग्नु उदेकलाग्दाे दृश्य देखियाे । 

राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, नेपालमा रहेका सम्बन्धित देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि समेत उपस्थित भएका थिए ।  त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । 

RS_KTM-1718773972093-1718776705.jpg
 

राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा सहभागी भई उनी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा गएका थिए ।

राष्ट्रपति पौडेलका साथमा प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरूलगायत थिए ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update