News 24 Television
आफुलाई ‘अलराउण्डर’ ठान्ने प्रचण्ड, झुट बोलेरै हैरान 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, कांग्रेसभित्रको विवाद समेत मिलाइदिनुपर्ने बाध्यता रहेको जिकिर गरेका छन् ।

पुराना दलको सूचीमा आफ्नो दललाई राखेका प्रचण्डले नयाँप्रति आक्रोश र कुण्ठा समेत पोखे । तर, प्रचण्डले आफूलाई अलराउन्डर सम्झिदा आफ्नै पार्टीभित्रको विवाद भने पोखिने तहमा पुगेको देखिन्छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय अंकगणितको राम्रो प्रयोग गर्नमात्रै माहिर छैनन्, उनी त सत्ता समीकरण फेरबदल गर्ने पनि उत्तिकै माहिर छन् । 

३२ सिट जितेर मुलुकको नेतृत्व गरिरहेका प्रचण्ड पार्टीप्रति गिर्दो जनमतलाई केन्द्रमा राखेर काम गर्ने भन्दा पनि राजनीतिक खेलोफड्को गर्दै नेतृत्व हत्याउनेमै केन्द्रित छन् । 

यस्तोमा उनले आफ्नो पार्टीलाई प्रत्यक्ष निर्वाचित प्रणालीमा लैजाने धमास पनि दिने गर्छन् । माओवादी केन्द्रमा एउटा तप्का निर्वाचन भएमा धेरै कुरा मिलाउन सकिन्छ भन्नेमा केन्द्रित छ भने अर्को पक्ष प्रचण्डसँग मिलेर जाँदा पद र लाभ दुबै प्राप्त हुने आशामा देखिन्छ । यसैको भरपुर फाइदा उठाइरहेका प्रचण्ड पछिल्लो समय फेरि अन्य दललाई मिलाउने मध्यस्तथकर्ताको रुपमा देखिन पुगेका छन् । 

एक कार्यक्रममा प्रचण्डले एमाले–कांग्रेसको विवाद पनि आफूले मिलाउने भूमिका खेलिरहेको दाबी गरिरहेका छन् । 

प्रचण्डले एमाले कांग्रेसको विवाद मिलाउने विषयलाई मात्रै केन्द्रमा राखेनन्, आफ्नो दललाई पुरानो दलको पगरी लगाउदै नयाँ दलले लोकतन्त्रका लागि लडेकाहरुमाथि अन्याय भएको र नयाँले सम्मान नगरेको भन्दै दुखेसो समेत पोखे । 

प्रचण्ड शान्ति प्रक्रियापछि अनेक राजनीतिक सक्रियताका साथ अघि बढिरहेका छन् । तर, उनको पार्टी सग्लो भने रहिरहन सकेन । 

त्यसपछि पार्टी एकता गर्दै नेकपा स्थापना गरेपनि सत्ता शक्ति संघर्षका कारण त्यो पनि दीर्घकालीन बन्न सकेन् । तर, पनि उनी पार्टीहरुमा देखिएको विवाद आफैले मिलाइदिने भूमिका खेल्नुपरेको सगर्व बताउदै जनयुद्धको बेला भन्दा अहिले आफू व्यस्त र जिम्मेवार बनिरहेको दाबी गरिरहेका छन् । 

के प्रचण्ड मध्यस्थकर्ताकै भूमिकामा छन् त ? 

प्रधानमन्त्री प्रचण्डले अरु पार्टीभित्रको विवाद मिलाइदिने दाबी गर्दै गर्दा उनले मिलाउने भन्दा पनि पार्टी विभाजन गराउने भूमिका खेलेको प्रष्ट देखिन्छ । जसको बलियो उदाहरण हो, एमालेमा आएको विभाजन । 

नेकपा विभाजनपछि उनले माधव नेपालसहितका नेताहरुलाई छुट्टै पार्टी स्थापना गराउन ठूलो भूमिोका खेले । माधव नेपालसहितका नेताहरुले पार्टी विभाजन गराएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कुनै कार्यक्रममै प्रचण्डले माधव नेपालको पार्टी बनाउन आफ्नो पनि भूमिका रहेको उल्लेख गरे । 

त्यसपछि पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी विभाजनमा पनि उनको भूमिका देखिन्छ । उपेन्द्रले कांग्रेससँग मिलेर सरकार निर्माण गर्ने सुईको पाएपछि प्रचण्डले उनको पार्टी विभाजन गराएर अशोक राई नेतृत्वको टोलीलाई सरकारमा ल्याएको विषय छिपेको छैन् । उसोतः माधव नेपालको पार्टी पनि फूटको डिलमै पुगेर फर्किएको देखिन्छ । 

यस्ता घटना अन्य दलमा पहिले पनि देखिएका छन् । तर, प्रचण्डले दाबी गरेजस्तो मिलापको रहस्य भने खास देखिन्न । 

आफ्नै पार्टी बचाउन नसक्दा के भयो ?

१० वर्ष जनयुद्धपछि शान्ति प्रक्रियामा आएपश्चात मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजन भयो । वैद्यमात्रै नभई डा. बाबुराम भट्टराई पनि अलग्गिए । 

बाबुराममात्रै नभई आहुति, गोपाल किराति लगायतका थुप्रै नेताहरु बाहिरिए र उनीहरुले छुट्टै पार्टी सञ्चालन गरिरहेका छन् । तर, स्थापित हुन भने उनीहरुपनि सकेका छैनन् । 

पार्टी विभाजनपछि ठूलो जनमतको संकट व्यहोरिरहेका प्रचण्ड पछिल्लो समय विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको तयारी गरिरहेका छन् भने, बाबुराम भट्टराईबाट छुट्टिएका महिन्द्र राय यादव नेतृत्वको टोलीसँग पनि एकताको तयारी चलिरहेको छ । तर, आफ्नो पार्टी एकीकृत गर्न नसकेका प्रचण्डले अरुको पार्टीमात्रै मिलाउने जिम्मा किन र कहिलेसम्म लेलान् ? यो रोचक प्रश्न बनेको छ । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update