News 24 Television
प्रचण्ड जादुगर पनि ! नयाँ–नयाँ ट्विस्ट ल्याउने ! 

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार कति दिनसम्म टिक्ला ? जवाफ हो, एमाले–कांग्रेसको राजनीतिक मनोविज्ञानमा प्रचण्डले खेलोफड्को गरुन्जेल । 

एमालेसँगको सत्ता सहकार्यमा असहज महशुस गरेको भन्दै आन्तरिक सर्कुलर गरिरहेका प्रचण्डले आफ्नो सरकार पुरा कार्यकाल जाने आत्मविश्वास व्यक्त गरेका छन् । 

पार्टीसँग जादुवाला नम्बर भएकाले पनि सरकारको नेतृत्व माओवादी केन्द्रले नै लिने प्रचण्डको ढुक्कको विश्वास देखिन्छ । 

प्रतिनिधिसभामा ३२ सिटसहित तेश्रो शक्तिको रुपमा रहेको पार्टी हो माओवादी केन्द्र । यसै तेस्रो शक्तिको पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको छ । 

यि नै प्रचण्ड अहिले सत्ता शक्तिको खेलमा आफु शक्तिशाली रहेकाले कसैले हल्लाउन नसक्ने बताइरहेका छन् ।

प्रधानमन्त्री बन्न स्वर्गिय पत्नी सीता दाहालसँग वचन दिएकाले निर्वाचन लगत्तै कांग्रेससँग सहकार्य हुन नसकेको दाबी गरेका प्रचण्डले एमालेहुँदै कांग्रेससँग र पुनः कांग्रेस छोडेर एमालेसँग सत्ता सहकार्य गरिसकेका छन् । तर, एमालेसँगको पछिल्लो सत्ता समीकरणमा बजेटलाई लिएर देखिन थापेको विवादले सरकारको आयु कतिदिन सम्म भन्ने अड्कल चलिरहेको छ । 

यसै बेला सरकार पुरा कार्यकाल जाने सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माको दाबी छ ।

शर्माले जस्तै एमाले पनि तत्काल सत्ता समिकरण फेरिहाल्ने मनस्थितिमा नपुगेको दाबी गरिरहेको छ । तर, आन्तरिक रुपमा प्रमुख प्रतिपक्षसँग संविधान संशोधनको मुद्दालाई लिएर सहकार्यको प्रस्ताव भने गरिरहेको छ । तर, बाहिरी रुपमा एमालेले तत्काल सत्ता फेरवदलमा विश्वास नगरेको दाबी गर्न छोडेको छैन ।

सरकारबारे अनेक टिप्पणी भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड आफैले भने आफूलाई हटाउन सजिलो नभएको चेतावनीपूर्ण अभिव्यक्ति दिइरहेका छन् । जादुवाला अंक आफ्नो दलसँग रहेकाले यसलाई मिलाएर प्रयोग गरि आफु पुरा कार्यकाल सरकारको नेतृत्वमा रहने जिकिर प्रचण्डको छ । 
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई कसैले फाल्न नसक्ने दाबी गर्दै गरेको यो समय भने संविधान संशोधनको मुद्दा जोडतोडले उठ्न थालेको समय हो । संविधानमा भएका कमजोरी हटाएर देशलाई नयाँ युगमा लैजाने दाबि राजनीतिक वृत्तमा चलिरहेको छ । 

यहि छेकोमा प्रधानमन्त्री प्रचण्डले आफ्नो दलसँग जादुवाला अंक रहेको भन्दै गरेको दाबी कतै गलत सावित हुने त होइन ? यो सोचनीय विषय हो । 

संविधान संशोधनको मुद्दामा देखिएको राजनीति

संविधान संशोधन गर्ने कुरा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाइरहेको छ । संविधान संशोधनका लागि संसदमा दुई तिहाई बहुमतको आवश्यकता पर्छ । 

२७५ सदस्यीय प्रतिनिधिसभामा यसका लागि २०७ सांसदको आवश्यकता पर्छ । अहिले कुनैपनि दलसँग सामान्य बहुमत नै नभएको बेला संविधान संशोधनको मुद्दालाई लिएर एमाले कांग्रेस मिल्ने सम्भावनाको बाटो खोज्न थालिएको छ । 

एमाले र कांग्रेस जोड्दा १६७ सांसद हुन्छन् । यति गर्दा पनि संविधान संसोधनका लागि अन्य ४० सांसद आफ्नो पक्षमा ल्याउनु पर्ने हुन्छ एमाले–कांग्रेसलाई । 

त्यसैले पनि माओवादी अध्यक्ष रहेका प्रचण्ड अंकगणितमा अन्य दल पनि कमजोर रहेकाले आफुले खेल्न सक्ने अवस्था छ  भनि ढुक्क देखिन्छन् । यद्दपी, माओवादीबाहेकका दलहरुले संविधान संशोधनको मुद्दा कुनै न कुनै मामलामा बोक्ने देखिएकाले राजनीतिक कोर्ष समेत फेर्ने गरि एमाले–कांग्रेस सत्ता समिकरण बन्न सक्ने सम्बावना बलियो छ । 

धर्मनिरपेक्षतादेखि संघीयताको विषयमा असहमति व्याप्त छ । यी मुद्दामा माओवादी केन्द्रबाहेकका दलहरु एकीकृत हुने स्थिति बनेमा मात्रै पनि प्रचण्डको दाबीमा ब्रेक लाग्ने सम्भावना बलियो छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update