काठमाडौं । अख्तियारको फन्दामा परेका सरकारका मुख्यसचिव निलम्बनमा परेका छन् । विभिन्न भ्रष्टाचार प्रकरणमा नाम मुछिएपनि अटेरी गर्दै पदमा बसिरहेका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा परेका हुन् । निलम्बनमा परेका मुख्यसचिव अर्याल पदमा रहँदै भ्रष्टाचारविरुद्धको मुद्दा खेप्ने नेपालको इतिहासमै सम्भवत पहिलो उच्चपदस्थ कर्मचारी बनेका छन् ।
टेरामक्सदेखि विभिन्न भ्रष्टाचार प्रकरणमा नाम मुछिएका नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुख्यसचिवको पदमा रहकै बेला अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोप आइतबार भ्रष्टाचार मुद्दा दायर ग¥यो ।
अर्यालसँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
भ्रष्टाचारविरुद्ध मुद्दा दायर १२ जना को–को ?
– सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल
– तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रही हाल अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य
– आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे
– सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल
– आन्तरिक राजश्व कार्यालय लाजिम्पाटका तत्कालीन निर्देशक गणेशविक्रम शाही
– राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ र रविन्द्रप्रसाद पौडेल
– लेखा अधिकृत विष्णुप्रसाद गौतम
– सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे
– सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ
– प्रिन्ट सेल्स प्रा.लिका निर्देशक केशव शर्मा र प्रिन्ट सेल्स प्रा.लि
– जसमा बिगो ३८ करोड ६७ लाख १७ हजार ६४० कायम गरिएको छ ।
मुद्दासँगै निलम्बनमा अर्याल
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिव अर्याल पदबाट स्वतः निलम्बनमा परेका छन् । अख्तियारमा मुद्दा परेसँगै अर्याल स्वतः निलम्बनमा परेका हुन । पद बहालकै अवस्थामा मुख्यसचिव अर्थात प्रशासनिक उच्चपदस्थ व्यक्तिविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको नेपालको इतिहासमा सम्भवत यो पहिलो घटना हो ।
प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव अर्याललाई राजीनामा दिएर सहज बनाउन पटक–पटक सुझाव दिएपनि उनले अटेर गर्दै आएका थिए । अर्याल पदमै रहेका समय भ्रष्टाचार मुद्दा दायरले प्रशासनतर्फका कर्मचारीको मनोबल गिर्नसक्ने भन्दै उनलाई राजीनामा दिन आग्रह विगतदेखि नै भइरहेको थियो ।
आइतबार समेत आयोगले भ्रष्टाचारविरुद्धको मुद्दा दायर गर्नु पूर्व अर्यालले प्रधानमन्त्रीसँग भेट गरे तर उनले राजीनामा भने दिएनन् ।
तत्कालीन सञ्चार सचिव हुँदा उनले अनियमितता गरेको आरोप अख्तियारले लगाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचारमुद्दा दायर भए स्वतः निलम्बन हुने व्यवस्था छ ।
उक्त दफामा भनिएको छ, ‘निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।’
मुख्यसचिव अर्यालको निलम्बनसँगै सरकारले अब वरिष्ठतम् सचिवलाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ । भ्रष्टाचारको आरोपबाट सफाई नपाएसम्म अर्यालको निलम्बन यथावत रहेनछ ।
अर्यालमात्रै नभई हाल पदमा रहेका सबै पदाधिकारीहरु भ्रष्टाचार मुद्दा दर्ता भएसँगै स्वतः निलम्बनमा परेका छन् ।
यसमा विकल पौडेलमाथि विभिन्न मुद्दा छन् । केहिमा फैसला भइसकेको छ भने केहि विषयमा मुद्दा चलिरहेको छ ।
टेरामक्स प्रकरणमा के होला ?
टेरामक्स प्रकरणको भ्रष्टाचार पनि चर्चामा छ । टेरामक्स प्रकरणमा समेत निलम्बित मुख्यसचिव अर्यालसहित पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, महेन्द्रमान गुरुङ लगायतका व्यक्तिहरु मुछिएका छन् । तर, अख्तियारले यो प्रकरणमा अनुसन्धान गरिरहेको दाबी गरेपनि हाइप्रोफाइविरुद्ध मुद्दा दायर हुने नहुने विषय अझैं खुल्न सकेको देखिन्न ।
केहिदिन पहिले मात्रै पूर्वमन्त्री कार्कीको घरमा अख्तियारले मुद्दा दायर गर्ने शंकाको घेरामा रहेका हाइप्रोफाइलहरु सम्मिलित बैठक बसेको बताइएको छ ।
